पनौती नगरपालिका न्यायिक समितीमा सूचिकृत मेलमिलापकर्ता साथीहरुलाई अध्ययन अवलोकन भ्रमणको निम्ति दोलखा लैजाने भनेर निर्णय भयो । त्यो दिन पनि आयो अर्थात विंसं.२०७८ चैत २१ गतेको लागि गाडी रिजर्वको जिम्मा उजुरी प्रशासकले पाए । म घरबाट विहान छिट्टै निस्कें । रातभर सुतेको थिइन डाँडाघरकी ठूली भाऊजुले महाप्रस्थान गर्नु भएकोले विहान करिव २ बजे त्रिवेणी घाटबाट घर आइपुगेको थिंए । विहान ८ बजे पनौतीको मानेश्वरी पार्कबाट यात्रा तय गरियो ।
दुईवटा गाडी एउटाको नेतृत्व उपमेयर गीता बन्जाराले गरिन् । उनलाई सहयोग रमेश थापाले गरे । अर्काको नेतृत्व वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले गरे । उनको सहयोगीको रुपमा म थिंए । हाम्रो यात्रा अघी बढ्यो । ठाडोवाटोबाट केही साथी चढे भने केही ढल्मलेबाट । बनेपाबाट जिल्ला अदालत काभ्रेकी शाखा अधिकृत हिराकुमारी भण्डारी चढिन् । दुई जना साथी धुलिखेलबाट चढे । हाम्रो यात्रा अगाडी बढ्यो । यात्राको उज्यालो आभा चम्केकै थियो । सबै उत्साहित उत्तिक्कै देखिएका थिए ।
हामी धुलिखेल हुँदै भकुण्डे पुग्यौं । नेपाललथोक नजिक कुशेश्वरको दर्शनको लागि केही बेर रोकियौं । म आफन्तको देहान्त भएको शोकमा थिंए त्यसैले म मन्दिर छिरिन । बाहिरै टहलिंए । नवराज खड्का दाई, लोकनाथ सापकोटा समेतले चिसो पिउँ भन्नु भएकाले चिसो पियौं । साथीहरु रमाए फोटो खिचे । म भने रातभरी मलामीमा बसेको हुँदा फ्रेस हुन सकिरहेको थिएन । केही साथीहरु चिया नास्ता तिर लागे । एक घण्टा अलमल भयो । आशा र उत्सुकता मनका भंगलाहरुबाट बल्ग्रेन्ती बग्दोरहेछ ।
बैयक्तिक अनुभव र अनुभूतिलाई जिज्ञासु मनले महसुस गर्न खोज्दोरहेछ । साँच्चै यात्राको सुगन्ध अत्यन्तै कडा हुँदोरहेछ । आफ्नो माटो प्रतिको सद्भाव शब्दमा कहाँ ब्यक्त हुनु र ⁄ जहाँ गए पनि श्रद्धा उत्तिकै । हामीले खुर्काेट पुगेर खाना खायौं । यतिका मान्छे एकैपटक कहाँ खाना हुन्थ्यो र ⁄ हामीले पहिल्यै व्यवस्था मिलाएका थियौं । खुर्काेटबाट मन्थलीको दुरी करिव १६ कि.मी.छ । सीमभन्ज्याङ सेलोघाटमा गाडीको चेक गरेर हामी अगाडी बढ्यौं । डाँडाको फेदीमा भएको यो सडक घुमाउरो छ ।
अलिक तल देब्रेतिर सुनकोशी सललल बगिरहेको छ । अनि पारीतिर सिन्धुली –बर्दिवासको सुन्दर सडक देखिन्छ । सुनकोशी र तामाकोशीको दोभानमा एकजना बा देखिए । दुई गाई र दर्जनबढी बाख्राहरु धपाउँदै गरेका उनको युवा जोश छ । गर्मी याम, त्यसमा पनि प्रचण्ड गर्मी छ । भर्खर खाना खाएका मेरा साथीहरुलाई हेर्छु ओइलाएको फुल जस्ता देखिएका छन् । तामाकोशी पारीको नाङ्गो डाँडा दिक्क मानेर हेर्दैछ । यता तामाकोशीलाई भने सितलता छर्न मन लागेर होला सितलताको बर्षा गर्दैछ ।
पर कोइराला फुल फुलेका छन् । मेरो घरमा आमाले बनाउनु भएको कोइरालाको अचार सम्झेर मेरो मुखमा पानी आयो । पारीको गाउँ, भुकम्प पछिको पुर्ननिर्माणले होला एकनासका नीला टिनका छाना देखिए । अझ पर सुख्खा डाँडो लमतन्न परेर बसेको छ । उकालो शुरु भो । तल तामाकोशीको किनारमा उसले बाटो परिवर्तन गर्दा बनेको फराकिलो बलौटे बगर अनि खेती योग्य फाँट । कुनामा राम्रो र चाक्लो बस्ती । ठाउँ ठाउँमा बिग्रिएको बाटो । मैले आँखा तानेर यसो पर्तिर हेरें । सुख्खा डाँडो र तलतिर भने छिटपुट खरका छानो भएका वस्ती ।
बारीमा एकोहोरो मकै गोड्ने बेला भएको छ । मन्थली पुगेर महाकवि देवकोटाको प्रतिमालाई मनमनै नमन गरेर दाहिने घुमेर अगाडी बढियो । समय अपरान्हको करिव १ः०० बजेको हुनुपर्छ । मन्थली एयरपोर्ट पार भइयो । कठजोर खोला पुल तरेसँगै खिम्ति बजार शुरु भो । किर्ने बजार जहाँ खिम्ति जलविद्युत आयोजना रहेको छ । त्यहाँ भने केही बाक्लै मानिसहरु भेटिए । कल्पनाका तरेलीमा जीवनका खुशीहरु उधेलिएका छन् । साँच्चै सुन्दर छ मेरो देश । जहाँ गयो उतै रमाइलो ।
म आफ्नै आँखाको उज्यालोले दृश्यपान गरेर रमाउँदै छु । मैनापोखरी । खावा । सडकको तल दाँयातिर फुलेका ढकमक्क लालीगुराँस फूल । हामी लमतन्ने सफेद सडकमा यात्रा गरिरहेकाछौं । ४५ जनाको हाम्रो टिम दुईवटा वसमा भरिएका छौं । यात्राकै क्रममा श्रद्धा थापाले भुटेको चना खुवाउनु भयो । रमाइला कुराकानी, मिठा मिठा गफ र ठट्टा उस्तै । सबै आ–आफ्नै धुनमा छौं । आँखा अगाडी उभिएको छ इलाका प्रहरी कार्यालय जिरी । मैले यसो घडी हेरें । अपरान्हको साँढे चार बजेको छ ।
नेपालको स्विजरल्याण्ड जिरीः
जिरीः नेपालको स्विजरल्याण्ड भनेर परिचित छ । स्विजरल्याण्डको ज्यूरिचसँग जिरीलाई तुलना गरिन्छ । स्वीस सरकारले ठूलो गुन लाएको छ जिरीलाई । कुल २११.२५ वर्ग कि.मि. क्षेत्रफलमा जिरी नगरपालिका रहेछ । हामी लिंकन बजार पुगेर नगरपालिका कार्यालयतिर लाग्यौं । हाम्रो नगर उप–प्रमुखले पहिले नै त्यहाँको उपप्रमुखसँग समन्वय गरिसक्नु भएको थियो । तर हामी निर्धारित समय भन्दा एक घण्टा ढिलो पुग्यौं । त्यहाँको उपप्रमुख कृष्णमाया बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य हाम्रो पर्खाइमा बसेका रहेछन् ।
न्यानो स्वागत गरियो । हलमा सामान्य परिचयात्मक कार्यक्रम भयोे । सवैले एकसरो परिचय आदान प्रदान गरेपछि त्यहाँका प्रमुख प्रशासकीय अधिकृतले जिरीको बारेमा संक्षिप्त जानकारी दिए । पहिला पहिला सडकमा गाईबस्तु र चौपाया खुला छोड्ने चलन थियो रे । अहिले गाई फर्महरु ब्यवस्थित भएका छन् । चौरी गाईको दुध बन्ने चिज फ्याक्ट्रिहरु धेरै छन् । स्वीस सरकारले जोडिदिएको रहेछ ति फ्याक्ट्रिहरु । यहाँको सडक सञ्जाल, यताउता जाने सडक वातावरणमैत्री छ । चिसो हावापानी छ ।
यो हिमाली जिल्लाको विभिन्न ४ वटा गाविसहरु मिलेर नगरपालिका भएको रहेछ । यहाँ २०१४ देखि स्वीसले विकासमा सहयोग गरेको रहेछ । टोनी हेगनको योगदानको चर्चा धेरै छ यहाँ । प्रमुख प्रशासकीय अधिकृतले उनको बारेमा बताए । ९ वटा वडाहरुमा विभाजित यो नगरपालिकामा करिब १६ हजार जनसँख्या रहेछ । स्थानीय काठको प्रयोगगरी नगरपालिका भित्र फर्निचर बनाइएको रहेछ । मानेडाँडामा कार्यालय रहेको यस नगरपालिकामा जिरेल, तामाङ, सुनुवार, शेर्पा, क्षेत्री, बाहुन जातीको बाक्लो बसोवास रहेछ । जिरेलको बारेमा जानकारी दिने संग्रहालय पनि रहेछ यहाँ ।
अहिले नगरको बार्षिक बजेट करिव ६० लाख भएको जानकारी पाइयो । यहाँ विशादी रहित आलु तथा अन्य तरकारीको खेती हुने रहेछ । जिरी दुर्लभ तथा लोपोन्मुख जंगली जनावर हाब्रेको निम्ति पनि प्रख्यात छ । सुन्दर, प्राकृतिक, हरियाली, स्वच्छ वातावरण, अर्गानिक उत्पादन, किवी खेती, वातावरण मैत्री सडक, स्थानीय ढुँगाले सोलिङ्ग गरेर सडक बनाएको छ । न्यायिक समितिका गतिविधिहरुको बारेमा उपप्रमुखले जानकारी दिइन् । ‘क्लिन जिरी अर्गानिक जिरी’ भन्ने नारालाई सार्थकता प्रदान गर्ने उदेश्यले नगर अगाडि बढेको रहेछ ।
खिम्ति २ हाइड्रो पनि निर्माणको चरणमा रहेको जानकारी उपप्रमुखले गराइन् । हामीले पनि नगरपालिकाको तर्फबाट लगेको मायाको चिनो उपप्रमुख गीता बन्जाराले हस्तान्तरण गरिन् । नगरका प्रकाशनहरु पनि हस्तान्तरण गरियो । हाम्रो नगरको बारेमा बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी र उपप्रमुख गीता बन्जाराले नगरका गतिविधी तथा न्यायीक समितिका बारेमा संक्षेपमा जानकारी दिए । त्यसपछि सामुहिक फोटो खिच्ने काम भयो । हामी चोकमा भएको होटल जुरिकमा बासको चाँजोपाँजो मिलाउन लाग्यौं । सहभागी साथीहरु चिया पिँउन दाँयावायाँ होटलहरुमा छिरे । माथि छत खाली रहेछ । हामीले खाना तयार हुनु अगाडी केहीबेर नाचगान गर्ने तयारी ग¥यौं । होटलका कर्मचारीले उफर ल्याइदिए । गीत बज्यो अनि सुरु भयो नाचगान ।
मलाई नाच्न आउँदैन् तर धक लाग्दैन् । रहर पाल्छु म पनि । इन्द्र सर, उपमेयर लगायत प्रायःसबै नाच्नु भयो । मैले पनि रहरको टेको टेकें उफ्रिएर । साँच्चै गाडीको थकाई मेटियो । खुशीको यो क्षणले हाम्रो दिनभरको व्यवस्थापनको कमजोरीलाई भुलाई दियो । यसो सहभागीहरुको अनुहार पढें । खुशीका प्रतिबिम्ब मुहारमा फुलेका देखिन्थे । कोठाहरु व्यवस्थापन भइसकेको थियो । खाना खाएर हामी केहीबेर आ–आफ्नै धुनमा मस्त । विहान ६ः३० बजे तयारी हुन सबैलाई अनुरोध गरेर हामी कोठामा प्रवेश ग¥यौं ।
इन्द्र सर, रमेश थापा र म रुम पार्टनर । केहीबेर आजको यात्राको समिक्षा गरेर रात छिप्पिंदै गर्दा निदायौं । सूर्य नारायणले पहाडको घुम्टोबाट लुसुक्क निस्किएर रातको अध्याँरोलाई फालिदिए । विहानीका किर्याकलाप सकेर चिया पिएसँगै हामी गाडी चढ्छौं । शान्त छ जिरी । ओरालो झर्दैछौं । सफा सडक प्लस टु पढ्ने नानीहरु टाई सुटमा भेटिए । लिंकन बजार जहाँ परम्परागत घरहरु छन् । कच्चि बाटो हल्का उकालो चढ्यौं । यहाँदेखि करिब साँढे दुई कि.मी. दुरीमा पर्छ जिरेश्वर महादेव । जंगलको बीचमा बाटो । वरिपरि वन ।
उतिस, चिलाउने लगायतका झ्याम्म परेका रुखहरु छन् । ठिंगुरे सल्लाको जंगल पनि छ । सल्लाका रुखहरुको हाँगाहरु काटेर मनै लोभ्याउने एकनासको छरितो बनाइएको छ । सुन्दर प्रकृतिले मेरो मनलाई एकनास कोपरिरह्यो । पहाड, वन अनि सम्पूर्ण प्रकृतिको कविता लेख्न मन लाग्यो । भन्थे कविहरु गाजल नलगाएको आँखा सुन्दर हुन्न रे भनेर । हो नि आज प्रकृतिले गाजल लगाएको छ । कतै सफेद क्रिम दलेको छ । हल्का रोयो पनि है प्रकृति आज । तर यो खुशीको आँसु बहाएको हो भन्ने मलाई प्रष्टै थाहा छ ।
सगरमाथाको द्धारमा छौं हामी । जिरी बजार जुन पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण छ । ऋषिमुनीहरुले ध्यान गर्ने गुफा जस्तो ठाउँ रहेछ । यहाँ साउनभर मेला लाग्छ । यसैगरी तीज, माघे संक्रातिमा मेला भर्छन् भक्तजनहरु । जिरेश्वर महादेवको उत्पत्ति कहिले भयो ? भन्ने बारेमा थाह भएन । जिरेश्वर महादेव मन्दिर संरक्षण समिति बनेको रहेछ । यो मन्दिरको विशेषता भित्तामा पहरामुनी प्राकृतिक रुपमै रहेको छ । साथीहरुले दर्शन गरे । म त जुठोमा छु । नियालेर हेर्दा यो मन्दिरमा माथि पहराबाट चौलानी जस्तो जल खस्दोरहेछ ।
यो जल तिर्थालु भक्तजनले जलको रुपमा लैजाने गरेको पाइन्छ । हाम्रा पथ प्रदर्शक स्थानीय बालकुमार खड्काले हामीलाई जानकारी दिए । मन्दिरसम्म पुग्नको लागि ढुँगाको सिंढी पनि बनाइएको छ । झरना पनि मज्जाको देखिन्छ । साँच्चै आज विहानको यात्रा रमाइलो भो । वरिपरि गुँरास फुलेको छ । सुनाखरी प्रसस्तै देखिएको छ । हामी त्यहाँबाट फर्कियौं । साथीहरु आआफ्नै तालमा । सेल्फी, फोटो, टिकटक बनाउँदै गरे । करिव ७.३० बजे हामी त्यहाँबाट फर्कियौं । सगरमाथाको प्रवेशद्धार लेखिएको छ ।
यो उत्तरी मार्ग रामेछाप, ओखलढुंगा, सोलुखुम्वुसम्म सामान लाने गरिएको बाटो रहेछ । हामी गाई आनुवंशिक श्रोत केन्द्रको अवलोकन गर्न पुग्यौं । जानकारी पाइयो यहाँबाट गाईभंैसीको कृतिम गर्भधारण गरिंदो रहेछ । गाईमा प्राकृतिक गर्भधारण, बंगुरका पाठापाठी वितरण, प्रजनन साँढे वितरण, घाँसको वीऊ वितरण र कृषि प्राविधिक सल्लाह प्रदान गरिने रहेछ । गाई फर्ममा गयौं । जर्सी गाई जुन पोखरादेखि ल्याएर पालिएको रहेछ । यसैगरी नजिकै रहेको जिरी अस्पताल र सामुदायिक आँखा केन्द्र अवलोकन ग¥यौं ।
यसैगरी ८४ हेक्टरमा फैलिएको जिरी प्राविधिक शिक्षालयमा पनि हामीले नजर लगायौं । जहाँ विभिन्न ५ वटा प्राविधिक विषयहरु पढाइने गरिएको रहेछ । हामी अलि पर रहेको तेन्जिङ हिलारी मेमोरियल पार्क पुग्यौं । सन् १९५३ मे २९ मा सगरमाथाको चुचुरोमा पहिलो पटक टेक्ने दुई साहासिक ब्यक्तिहरुको स्मरणमा शालिक निर्माण गरिएको रहेछ । मलाई श्रद्धा जाग्यो ति साहसिक हिमाल आरोहीहरु प्रति । यात्रा हतारोको छ र पनि फोटो खिच्न सबै ब्यस्त भयौं । जिरी प्राविधिक शिक्षालय जुन नेपालकै दोश्रो रहेछ ।
८४ हेक्टरमा फैलिएको जिरी प्राविधिक शिक्षालयमा हामीले नजर लगायौं । जताततै रुखहरु सखाप हुन लागेका बेला यहाँ भने संरक्षण गरिएको पायौं । ‘स्वच्छ सफा हरीयाली जिरी अभियान’ नाराले सार्थकता पाएको भान भयो । हामी फर्केर जिरी बजार घुम्यौं । साथीहरुले छुर्पी लगायत चौरी गाईबाट बनेका परिकारहरु किने । हिजो बसेको होटल जुरिक पुग्दा विहानको ९ः०० बजिसकेको थियो । त्यहाँ चिया नास्ता खाएर उभो लाग्यौं । उज्यालो जिरी बजारले हामी फिर्ता हुने थाहा पाएर होला अध्याँरो मुहार लगाएर विदाइका हात हल्लायो ।
