नेपालमा अनलाइन शिक्षाको अवस्था र सम्भावना

नेपालमा अनलाइन शिक्षाको अवस्था र सम्भावना image

नेपाल एउटा विकासोन्मुख मुलुक हो । यहाँको शैक्षिक अवस्था पनि आत्मनिर्भर, रोजगारमुलक र व्यावसायिकता तिर जान सकिरहेको छैन । झन अहिले लगडाउनको परिस्थितिले शिक्षा क्षेत्र अन्योलको अबस्थामा छ । वर्तमानमा परिस्थितिमा शैक्षिक गतिविधि कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा विभिन्न विकल्पमा वहस र छलफल भैरहेको छ ।

अहिले विद्यालय तथा विश्व विद्यालयको शिक्षा डिजिटल प्रविधिको प्रयोग गर्ने अथवा अनलाइन शिक्षाबाट सन्चालन गर्ने वहस चर्चामा छ । अनलाइन कक्षा भन्नाले निस्चित समय तालिका र विषय वस्तुमा, विद्यार्थी र शिक्षकहरुले आफुलाई उपयुक्त हुने स्थानबाट विभिन्न प्रविधिहरुको प्रयोगबाट गरिने अध्यायन र अध्यापन हो ।

शिक्षालाई कसरी व्यावसायिक तथा रोजगारमुलक बनाउने भन्ने प्रमुख चुनौतीसंगै लगडाउनको अवस्थामा कसरी गतिविधि सन्चाल गर्ने भन्ने थप चुनौती थपिएको वेलामा नेपालको सन्दर्भमा अनलाइन शिक्षाको अवस्था, सम्भावना, र चुनौती के छन ? भन्ने वारेमा छोटो चर्चा गरौ ।

वर्तमानमा अवस्था

नेपाली संविधानमा आधारभुत शिक्षा र माध्यमिक शिक्षा स्थानीय तहले सन्चालन गर्ने अधिकार दिएको छ । मानव श्रोत विकास केन्द्रको तथ्यांकअनुसार नेपालमा ३५ हजार ५ सय २० वटा विद्यालय छन, जस मध्ये सामुदायिक विद्यालय २८ हजार ८ सय ३० र निजी विद्यालय ६ हजार ६ सय ८७ रहेका छन ।

यसैगरी नेपालका कुल ४६० गाउँ पालिकाका २५ प्रतिशत वडाहरुमा अझै ईन्टरनेट पुगेको छैन ( गाउँ पालिका रास्ट्रिय महाँदिवेसन प्रतिवेदन वाट) नेपालको ७५ प्रतिशत वस्तिमा ईन्टरनेट कनेक्सन पुगेको दाबी गरेतापनि शैक्षिक गतिविधि सन्चालन हुन सक्ने गरि पहुँच, सर्वसुलभता तथा गुणस्तरीय शेवा भने कुनै पनि शेवाप्रायक संस्थाले दिन सकेका छैनन् ।

नेपालका कैयौं बस्तीमा नेटवर्क भन्दा राम्रोसँग रेडियो सुन्ने अवस्था पनि छैन । कैयौं वालवालिका विद्यालय भन्दा बाहिर छन । सहरबजार तिर पनि अभिभावकसगै नहुने वालवालिका धेरै छन । गाँस र बाँसको समस्यामा पिल्सिएका धेरै बालवालिकाहरु छन ।

यस्तै गरी नेपालमा अनलाइनको सुविधा सम्पन्न भएको क्षेत्र, टिभि, मोवाईलको सुविधा भएको क्षेत्र, रेडियो र मोवाईल सुविधा भएको क्षेत्र र अति विकट सम्पूर्ण सन्चारबाट वन्चित क्षेत्र गरि करिव चार किसिमको पहुँच भएको पाईन्छ । नेपालमा जुनसुकै आर्थिक अवस्था भएका वा नेटवर्क सुविधा भए वा नभएका सबै क्षेत्रका अधिकांस महिला र पुरुससंग मोवाईल प्राय अनिवार्य रुपमा राखेको पाईन्छ ।

विद्यालय उमेरका कैयौं हिमाली वा पहाडी क्षेत्रमा शैक्षिक र आर्थिक अवस्था कमजोर भएका अभिभावकका केटाकेटी घरबाट भागेर भए पनि नेपाल वा भारतमा मजदुरी गरेर पनि मोवाईल बोकेको पाइन्छ । घरमा गाँस, बाँसको जतिसुकै समस्या भए नि मोवाईल नभएको प्राय घर वा व्यक्ति पाउन मुस्किल छ ।

नेपालका अधिकांश सामुदायिक विद्यालयमा फोन तथा नेटवर्कको सुविधा पुगेको छैन । भौतिकरुले पनि अनलाइन सन्चालनको लागि कक्षा कोठा, फर्निचर छैनन् । विद्युतिय सामग्री छैन । यस्तो विषम परिस्थितिमा पनि अनलाइन कक्षा सन्चालनका केही प्रयासहरु भईरहेका छन । एसइइ दिने विद्यार्थीलाई लक्ष्यित गरेर भक्तपुर नगरपालिकाले टेलिभिजनबाट अनिवार्य विषयमा भर्चुअल कक्षा सन्चालन गर्दै छ ।

दैलेख जिल्ला शिक्षा एकाईको समन्वयमा स्थानीय एफ.एम रेडियोको माध्यमले कक्षा सन्चालन गरिरहेको छ । विरेन्द्रनगर सुर्खेत ले पनि अनलाइन कक्षाहरु सन्चालन गर्दैछ । अनलाइनबाट प्र. अ. मिटिङ तथा गणित र विज्ञान विषयमा शिक्षक तालिम सन्चालन गरिरहेको छ । सातवटै प्रदेशमा प्रबिधि मैत्री शिक्षक समाजको सक्रियतामा अनलाइन शिक्षक तालिम सन्चालन भैरहेका छन । प्राय निजि विद्यालयहरुले अनलाइनबाट नतिजा प्रकाशित गरेर अनलाइनबाट नै अध्यापनको तयारी गरिरहेका छन ।

केही सामुदायिक विद्यालयले पनि अनलाइनबाट नतिजा प्रकाशित गरेर थप कक्षा कसरी सन्चालन गर्ने सम्बन्धि अनलाइन मिटिङ, छलफल गर्दैछन् । त्रिभुवन विश्व विद्यालयले “ अनलाइन कक्षा सन्चालन निर्देशिका “ तयार गरि शिक्षक तालिम सन्चालन गर्दैछ । मध्यपश्चिम विश्व विद्यालयल तथा अन्य विश्व विद्यालयहरूले पनि अबको परिस्थितिमा अनलाइन कक्षा कसरी सन्चालन गर्ने सम्बन्धि अनलाइन मिटिङ तथा तालिम सन्चालन गरिरहेका छन् ।

यसैगरी रोल्पा जिल्लाको लुंग्री गाउँपालिकाले वैकल्पिक शिक्षाको लागि नेटवर्कको सुविधा नभएकोले रेडियोबाट शिक्षण सन्चालको लागि प्रत्येक विद्यार्थीलाई (पहिलो चरणमा एसइइ दिनेहरुलाई ) एक सेट रेडियो वितरण गरेर रेडियो शिक्षा कार्यक्रम सन्चालको थालनी गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाले आफ्नो नगरपालिका भित्रका विद्यालयमा केही महिना पहिलेबाट नै जुम एप को माध्यमले केही विषयमा भर्चुअल शिक्षाको अभ्यास गरिरहेको छ ।

यसैगरी वर्तमान अवस्था विद्यार्थीलाई लक्षित गरेर विभिन्न यपहरुबाट अनलाइन तथा अफलाईन र निसुल्क वा ससुल्क शैक्षिक सामग्री तथा कक्षाहरुको सन्चालन गरेको पाईन्छ । जस्तै स्मार्ट मोवाईल लर्निङ एपले कक्षा ४ देखि ९ सम्मका गणित र विज्ञानका सामग्री निशुल्क अध्यायन गर्ने व्यवस्था गरेको छ ।

E Paath Digital Learning Activities, E Pustakalaya, Kullabs.com, Moecde .gov.np, Children s Book, Midass Class आदिबाट केटाकेटीलाई धेरै उपयोगी सामग्रीको व्यावस्था गरेर शिक्षण शिकाईमा डिजिटल प्रविधिको प्रयोग भईरहेको छ । २१ औ शताब्दी सुचना र प्रविधिको युग हो ।

हामीलाई मन परे पनि नपरे पनि, हाम्रो पहँुच भए वा नभए पनि, साधन श्रोतको उपलब्धता भए वा नभए पनि हामी जस्तोसुकै परिस्थितिसंग भिडेर भए पनि डिजिटल प्रविधिमा नगई सुखै छैन । आज वा भोलि विश्वको विज्ञान र प्रविधि उपयोग गरि देशको समुचित विकास गर्न, सबैलाई समान पहुँचको शिक्षा दिन, रोजगार तथा आत्मनिर्भरताको वातावरण सृजना गर्न ।

स्थानीय श्रोत सामाग्रीको वैज्ञानिक तरिकाले उपयोग गर्ने, सन्सारभरिका नविनतम ज्ञान, सीप र प्रविधिको उपयोग गर्ने नयाँ नयाँ डिजिटल प्रविधि उपयोग गर्नु अनिवार्य छ । नेपालको सन्दर्भमा शिक्षामा डिजिटल प्रविधिको प्रयोगमा अनगिन्ती चुनौतीहरु छन्, तर पनि ती चुनौतीसंग जुझ्न लगडाउनको वर्तमान अवस्थाले हामीलाई बाध्य पारेको छ । अहिलेको समस्या नै भविष्यमा स्वर्ण युगको आधारशिला बन्न सक्ने छ । यदि सबैले चुनौतीलाई अवसरको रुपमा उपयोग गरेमा ।

नेपालमा भर्चुअल शिक्षाका चुनौतीहरु

बदलिँदो युगसंग प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार गर्नु राष्ट्रको प्रमुख दायित्व हो । जुन दायित्व विज्ञान र प्रविधिको व्यावसायिक प्रयोगले मात्रै पुरा गर्न सक्छ । नेपालको शिक्षालाई अनलाइन प्रविधि तर्फ लान अनगिन्ती चुनौतीहरु छन । ग्रामीण क्षेत्रका बालबालिका जस्ले एक सरो कपडा किन्न पनि नसक्ने अवस्थाका छन् ।

नियमित विद्यालय जाने, कापि कलमको प्रयाप्त व्यावस्था मिलाउनु नै कठिन छ । पहाड र हिमालका कैयौं युवा युवती वाध्यताले गाँस बाँसको खोजिमा रोजगारको लागि अधिकांस समय घर बाहिर हुन्छन् । घर धन्दा, कृषि, पशु चौपायाको रेखदेख गर्ने वा पढ्ने जिम्मा केटाकेटीको हुन्छ । कसरी अनलाइनबाट अध्यायन गर्ने ? नेटवर्क हुदैन, मोवाईल हुदैन, मोवाईल भए पनि डाठा किन्ने पैसा हुदैन ।

ग्रामीण क्षेत्रका अधिकांस विद्यालयमा नेटवर्क छैन । भौतिक सुविधा छैन । न उपयुुक्त कक्षा कोठाहरु छन न त उपयुुक्त फर्निचरको व्यवस्था नै छ । घरमा अभिभावक मेला पात जानु पर्ने, घाँस दाउरा जानु पर्ने, काम धन्दामा जानु पर्ने हुँदा अभिभावकले पनि आफ्ना वालवालिकाको रेखदेखमा अनलाइन कक्षा सन्चालनमा समस्या छ । नेपालका अधिकांस भूभागमा विजुलि वत्ति पुगेको छैन । अधिकांस ठाउँमा सोलारको प्रयोग भएको छ । जस्ले प्रयाप्त मात्रामा चार्ज पुग्दैन ।

‘हाम्रा अधिकांस शिक्षकहरुमा कम्प्युटरको ज्ञान छैन । पुरानो पढाईबाट नियुक्ति भएका तथा आशिर्वादले नियुक्ति भएका तर विषय वस्तु एवं प्राविधिक कुराको सामान्य भन्दा सामान्य पनि ज्ञान नभएका शिक्षक धेरै सामुदायिक विद्यालयमा छन । न कुनै तालिम छ, न कुनै सुचना प्रविधिमा नयाँ अपडेट हुने अवसर तथा वातावरण नै छ । न त आफै अध्यायनशील हुने बानी नै छ । अब त्यो जनशक्तिबाट अहिले कै अवस्थामा कसरी भर्चुअल कक्षा प्रभावकारि होला र ?’

यसिर भौगोलिक विकटता, विधुतको अभाव, नेटवर्कको समस्या, भौतिक साधन श्रोतको समस्या, योग्य जनशक्तिको अभाव, गरिबीले नियमित विद्यालय नआउने समस्या, घरमा नेटवर्क तथा विधुतिय साधनको समस्या, अभिभावकमा अनलाइन कक्षा प्रति चेतना तथा सकारात्मक धारणाको कमि, विद्यार्थीहरुले अनलाइनबाट नकारात्मक कुराहरू लिने सम्भावना जस्ता विभिन्न चुनौहरु छन ।

यी सबैलाई चिर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सयुक्त रुपमा शैक्षिक रुपान्तरणको अभियान सन्चालन गर्नु पर्ने देखिन्छ । अन्यथा आधारभुत र माध्यमिक शिक्षा स्थानीय तहको भन्ने मात्रै शैक्षिक सुधारका भाषण र गोस्ठी मात्रै सन्चालन गर्ने भएमा देशमा शैक्षिक असमानताले खाडल धेरै चुलिने छ । हुने खाने तथा सुविधा सम्पन्न ठाउँको शिक्षा उच्च कोटिको हुनेछ र दुर दराजको अवस्था अझै खस्किने छ ।

JPT

जे.पि. तिमिल्सिना

विकल्प वा निष्कर्ष

नेपालको सन्दर्भमा सबैलाई सामान पहुँच हुने गरि एकै प्रकारको शिक्षा दिन शिक्षालाई श्रम र सीपसंगै सुचना र प्रविधिसंग एकाकार गरेर सन्चालन गरिनु पर्छ । सहरबजारमा शिक्षालाई उद्योग, कलकारखाना, होटल व्यावसायसंग जोडेर अनलाइन प्रविधिको प्रयोग गरिनु पर्छ । हिमाल तथा पहाडमा शिक्षालाई कृषि, पशुफार्म, उद्योग, कलकारखाना, तथा वन पैदावरसंग जोड्दै नेटवर्क कम भएको ठाउँमा टिभि, रेडियोबाट शिक्षणको व्यवस्था गरिनुपर्छ ।

जहाँ सन्चारको पहुँच कम छ,त्यहाँ घुम्ति विद्यालय, घुम्ति शिक्षकको व्यवस्थापन गर्नु पर्छ। घरमै शिक्षा, अभिभावक शिक्षाको लागि व्यवस्थापन गर्नु पर्छ । देशभरि सम्पुर्ण शिक्षकहरुलाई अनिवार्य छोटो अवधिको आधारभुत अनलाइन तालिम सन्चालन गर्नु पर्छ । बेरोजगार युवाहरु किसान तथा मजदुरलाई समेत उपयुुक्त समय मिलाएर अनलाइन कम्प्युटर तालिमको निसुल्क अवसर सृजना गर्नु पर्छ ।

विधुतिय उपकरण आवस्यक्ता अनुसार सरकारले कम्प्युटर, टिभि, रेडियो, नेटवर्क निसुल्क सबैलाई पुग्ने व्यवस्था मिलाउनु पर्छ । शैक्षिक वेरोजगारहरु, विश्वविद्यालयका विद्यार्थीलाई तालिम दिएर गाउँ घरका विद्यार्थीलाई सुचना र प्रविधि तथा अनलाइन शिक्षाको विस्तारमा लगाउन सकिन्छ । यसरि निश्चित समयमा पुरागर्ने गरि शिक्षामा आमुल परिवर्तनको अभियान रास्ट्रव्यापिरुपले सन्चालन गरेमा नेपालले छोटो समयमा नै नयाँ उचाइ भेट्ने छ । timilsenajp29@gmail.com

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda