पछिल्लो समय पर्यटकलाई सहरभन्दा गाउँ प्यारो

पछिल्लो समय पर्यटकलाई सहरभन्दा गाउँ प्यारो image

भक्तपुर । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले सहर भन्दा गाउँ मनपराउन थालेका छन् । आरामदायी बास र प्राकृतिक सुन्दरतासँग समाउन मिल्ने भएकाले होला अहिले मुख्य मुख्य पर्यटकीय गाउँमा पाहुनाहरुको घुइँचो लाग्न थालेको छ । यसैबीच दसैँ–तिहारलगत्तै घुम्न जाने आन्तरिक पर्यटकको रोजाइमा परेको छ कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँहरु । यी क्षेत्रमा पर्यटकको चहलपहल निकै बढ्न थालेको छ ।  

पोखरा घुम्न आउनेहरू आजभोलि पोखरामा मात्रै सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरेको छ पोखरा आसपासका गाउँबस्ती र थुम्काहरु । गाउँमा त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँग रमाउन पाइने भएकाले होला पोखराको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटकहरु पनि गाउँमा पुग्न थालिसकेका छन् ।

हामी पनि यही मौका पारेर पर्यटकीय गाउँ घान्द्रुक पुगेका छौं । भक्तपुरबाट हामीले यात्र अघि बढायौं ।

 यो पर्यटकीय गाउँ घान्द्रुक हो । यहाँ दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय पर्यटन व्यावसायी बताउँछन् ।

कोरोनाको समयमा पर्यटकका लागि यो गाउँ बन्द रहेको स्थानीय राम गुरुङले हामीलाई जानकारी दिए । गत वर्ष असोज १ गतेदेखि खुला गरिएपछि यहाँ पाहुना आउने क्रम सुरु भएको उनको भनाइ छ ।

अहिले त घान्द्रुकमा थामिनसक्नुका पर्यटक आएको गुरुङले बताए । शुक्रबार र शनिबार घान्द्रुकका होटल र होमस्टे सबै भरिभराउ हुने गरेका छन् । त्यहि भएर पनि होला घान्द्रुक घुम्न आने पर्यटकले पूर्वजानकारी गराएर मात्र आउनु पर्ने गुरुङको भनाइ छ । घान्द्रुकमा पाहुना राख्नका लागि ५० को हाराहारीमा होटल र २० वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए ।

पाहुना धेरै भएको अवस्थामा १० घर जतिमा व्यवस्थापन गर्न सकिने उनले बताए । सत्तरी–असी होटल होमस्टेमा एक दिनमा दुई हजारसम्म पाहुना राख्न सकिने अध्यक्ष गुरुङको भनाइ छ । यस्तै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पनि दैनिक हजार पर्यटक पुग्ने गरेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए । सिक्लेसमा ५०–६० जनासम्म राख्न सक्ने होटल १५ वटा रहेका छन् ।

दर्ता भएका नभएका गरी २७ होमस्टे संचालनमा छन् । होटल र होमस्टेमा गरेर दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म पर्यटक राख्न सकिने उनको भनाइ छ । सिक्लेस नजिकैको गाउँ ताङतिङमा पनि उत्तिकै सङ्ख्यामा पर्यटक पुग्ने गरेको गुरुङले बताए ।

अहिले ग्रामीण क्षेत्रमा हाउसफुल हुँदा पोखरामा भने सोचेजस्तो पर्यटक नभएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको उनको भनाइ छ । यसले व्यवसायीमा थप आशा जगाएको उनको भनाइ छ । यो क्रम बाह्रैमास भएमा पर्यटन क्षेत्र उकासिने उनको विश्वास छ ।

पछिल्लो समय केही आशा जगाएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कोरोनाभन्दा अघि कोठा नपाएर भनसुन गर्नुपर्ने अवस्था हुने गरेको सम्झदै सुवेदीले यसपालि भने त्यो अवस्था नरहेको बताए ।

सङ्घमा चार सय २५ होटल आवद्ध रहेको र उत्तिकै सङ्ख्यामा आवद्ध नभएका होटल पोखरामा सञ्चालन रहेको जानकारी दिए । परिस्थिति विस्तारै उकालो लाग्दै गएकाले अहिले पोखरामा विदेशीसंगै आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको उनको भनाइ छ । R.D.

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्