सुर्खेत । प्रदेशको निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव शङ्करदास बैरागी नेतृत्वको उच्च अधिकारीहरुको टोली फिल्डमा गएको छ । यसैबीच उक्त टोली कर्णालीमा पुगेको छ ।
निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुुझ्न मुख्य सचिव बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा जुम्ला पुगेको हो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सचिवहरुको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीका विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा आवश्यक निर्देशनसमेत गरेको बताए । नेपाली सेनाको २४ नं वाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल सम्पन्न गरेको बताइएको छ ।
छलफलमा नेपाली सेनाको २४ नं वाहिनीका वाहिनीपति रामचन्द्र केसीले साबिक कर्णालीको पाँच जिल्लाको सुरक्षा अवस्था र तयारी तथा प्रमुख जिल्ला अधिकारी केशरीले जुम्ला जिल्लाको सुरक्षा अवस्था र तयारीबारे जानकारी गरेका थिए । नेपाली सेनाको हेलिकप्टरबाट टोली कर्णाली क्षेत्रमा गएको हो ।

