मैले त ‘आइफोन’ (iphone) बोक्ने कुरा सपनामा पनि चिताएको थिएन । गोठालोको छोराको ‘आइफोन’ किन्ने हैसियत पनि थिएन ! ज्यान पाल्न मुश्किल परिरहेको बेला ‘आइफोन’ त आकाशको फल नै थियो मेरो लागि ।
अरुले ‘आइफोन’ बोकेको देख्दा चाहिँ खुब डाहा लाग्थ्यो मलाई । कुनै दिन धन कमाए भने म पनि ‘आइफोन’ बोक्नेछु भनेर मन बुझाउँथे ।
तर आज तमास भयो । सपनामा नचिताएको कुरा ‘आइफोन’ समात्न पाए । मेरो हातमा पनि ‘आइफोन’ पर्यो । वाह ! कस्तो गज्जब ! म त मख्ख परेँ । अमेरिका बस्ने मेरो एउटा विद्यार्थीले मलाई उपहारस्वरूप ‘आइफोन’ पठाइ दियो । ‘आइफोन’ हातमा परेपछि रातभर निद्रा लागेन । छातिमा टाँसेर बिहान कहिले होला भनेर साेचीरहेँ ।
एकनासले घडी हेरिरहें । कतिखेर उज्याे हाेला यही कल्पनामा डुबिरहेँ । यही कुरा साेच्दा साेच्नै कतिखेर निदाएछु । पत्तै पाएन, जब ब्युँझे । छातीमा ‘आइफोन’ थिएन । आत्तिएँ ! यताउती खोजे, चारैतीर खाेजेँ । काेठा भरी हेरेँ । अँह भेटिएन । कता पाे परेछ ? कुच्चाेले काेठा सफा गरेँ अहः भेट्दै भेटिन ।
कता हरायाे हाेला त मेराे ‘आइफोन’ ! त्यसपछि झल्यास्स ब्युँझिए …
हत्तेरिका ! त्यो त सपना पो रहेछ । ओहो….हो ! कस्तो मीठो सपना…। किन निद्राबाट ब्युँझेछु ? भनेर अहिलेसम्म थै थै लाछ ।
केएल पीडित, पत्रकार (घाेराही दाङ)