भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु |

पर्यटकको मन जित्दै फुङफुङ्गे होमस्टे

पर्यटकको मन जित्दै फुङफुङ्गे होमस्टे

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) अहिले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको होमस्टेले विस्तारै पर्यटकको मन जित्न थालेको हो । गाउँ घरमै उत्पादन गरेको खाद्य वस्तुले बजार पाउने भएकाले राम्रो आम्दानीसमेत हुन थालेको होमस्टे (घरबास) सञ्चालकको भनाइ छ । विस्तारै पाहुना आउन थालेपछि आम्दानी पनि शुरु भएको छ ।

फुङफुङ्गे सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष विजय लिम्बूले पछिल्लो समय शुरु भएको आन्तरिक पर्यटकको चहलपहलले सञ्चालकमा आशा र उत्साह जगाएको बताउनुभयो । कोभिडको महामारीले सबै क्षेत्र ठप्प बनाएपछि होमस्टे सञ्चालनको कुनै अनुभूत गर्न नपाएपनि अहिले घरघरमा पाहुना राख्न पाउँदा र सेवा दिन पाउँदा सञ्चालकको मुहारमा विस्तारै खुशी छाउँदै गएको लिम्बूले बताउनुभयो ।

जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य फुङफुङ्गे झरनाको भ्रमण तथा अवलोकन गर्न सयौं पर्यटक त्यहाँ पुग्न थालेका छन् । ताप्लेजुङसहित पाँचथर, तेह्रथुमलगायत पूर्वका जिल्लाबाट आन्तरिक पर्यटक झरनाको भ्रमणमा पुग्ने गरेका छन् । तेम्बा बस्ती नजिक रहेको फुङफुङ्गे झरनाको भ्रमण तथा अवलोकनमा जाने पर्यटकले नै होमस्टे भरिभराउ हुने गरेको सञ्चालक बताउँछन् । करिब डेढ दर्जन घरमा होमस्टे सेवा गरिएको कुनै दिन सबै घरमा पाहुनाको बास हुने गरेको सञ्चालक सन्तोष लिम्बूले जानकारी दिनुभयो ।

लिम्बू समुदायको मौलिक कला र संस्कृति प्रदर्शनले होमस्टेमा आउने पाहुनाको मन जित्दै आएको छ भने गाउँ नै ढाकेको अलैँची खेतीसमेत अवलोकन गर्नमा पाहुनाहरु व्यस्त हुने गरेका छन् । अर्का सञ्चालक सन्तकुमार लिम्बूका अनुसार होमस्टे सेवा लिन आउने सेवाग्राहीअर्थात् पाहुनालाई लिम्बूको मौलिक संस्कृति याःलाङ  धान नाच, केःलाङ च्याब्रुङ नाच, येःबालाङ बिजुवा नाच जस्ता प्रस्तुतिहरु देखाउने गरिएको छ । होमस्टेलाई व्यावसायिक रुपमा भन्दा पनि सेवामुखी बनाइएको सञ्चालक समिति अध्यक्ष लिम्बूको भनाइ छ ।

सरकारले फुङफुङ्गे झरनालाई पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेपछि साथै झरनासम्म नै सडकको पहुँच पुगेपछि पर्यटकको उपस्थिति बाक्लिँदै गएको हो । सदरमुकाम फङ्लिङदेखि सवारी साधनमार्फत मेरिङ्देन गाउँपालिकाको दोभान बजार, सान्थाक्रा, थुकिमा हुँदै करिब साढे तीन घण्टामा झरना पुगिन्छ । जिप, ट्याक्सी, मोटरसाइकलजस्ता सवारी साधनमार्फत फुङफुङ्गे झरना पुग्न सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.