काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् ।
राजधानीमा सम्पन्न आठौं महाधिवेशनबाट चुनिएका २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो ।
केन्द्रीय सदस्य कृष्णबहादुर महराको समर्थनमा बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा अन्य नेताहरुले दावेदारी नदिएपछि उनी विर्विरोध बनेका हुन ।
जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता दिनानाथ शर्माले गरेका थिए भने उनले नै प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
केन्द्रीय सदस्यले लिए शपथ
नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरूले शपथ ग्रहण गरेका छन् । आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २३६ जना केन्द्रीय सदस्यहरूलाई सोमबार निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ गराएका हुन् ।
फेरि मेरो काँधमा निकै ठुलो भारी बोकाउनु भयोः प्रचण्ड
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन प्रचण्ड आएपछि उनले फेरि आफ्नो काँधमा कार्यकर्ताले निकै ठुलो भारी बोकाएको बताएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सर्वसम्मत नेतृत्व स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवाद दिए ।
देशलाई राजनीतिक बिन्दुमा लैजाने, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता आएको प्रचण्डले बताए ।
माओवादी विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनको भनाइ छ।
