भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

पूर्वक्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदै

पूर्वक्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदै

काठमाडौं । उच्च अदालत पाटनले सन्दिपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको छ । आदेशसंगै बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । पुर्पक्षका लागि थुनामा राख्नुपर्ने जिल्ला अदालत काठमाडौंको आदेश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बदर गरेको हो ।

शुक्रबार थुनामुक्त हुने र अदालत खुलेसँगै धरौटी रकम बुझाउने प्रक्रिया अघि बढाइने लामिछानेका कानुन व्यवसायी मुरारी सापकोटाकाले बताए । धरौटीको हकमा नगद वा सोबराबरको बैंक जमानत राख्न अदालतले भनेको छ । उक्त रकम बुझाए सर्तहरूको अधिनमा रही लामिछानेलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न सक्नेछन् ।

बकपत्र सम्पन्न भइसकेको र कतिपय प्रमाणसमेत बुझिसकेको आदेशमा उल्लेख छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले गत कात्तिक १८ गते लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो ।

केन्द्रीय कारागार सुन्धारामा रहेका लामिछानेले जिल्लाको आदेशविरुद्ध गत मंसिर २९ गते उच्च अदालतमा निवेदन दिएका थिए । मुद्दाको फैसला नभएसम्म लामिछानेलाई नेपालबाहिर जान रोक लगाएको छ । उनको नाउँमा जारी भएको राहदानी रोक्का गर्न पनि भनिएको छ ।

यस आदेशको कार्यान्वयन गर्न यथाशीघ्र गृह र परराष्ट्र मन्त्रालयमा लेखी पठाउन अदालतले आदेश दिएको छ । पीडित र उनको परिवारका सदस्यको सम्बन्धमा वा प्रस्तुत विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुनै टीकाटिप्पणी वा धारणा व्यक्त गर्न पनि रोक लगाइएको छ।

आफू वा आफू सम्बद्ध सस्था वा व्यक्तिहरूबाट जाहेरीकर्ता, पीडित वा उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरुत्साहन दिने वा सोसम्बन्धी कुनै कार्य नगर्नु, नगराउन पनि लामिछानेलाई निषेधात्मक आदेश दिइएको छ।

पुस ७ गते न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी चढेको थियो । पुस १४ गते पेसी चढ्यो उक्त दिन न्यायाधीशद्वय सुभास पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो ।

पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लामिछानेलाई पक्राउ गरी हिरासतमा लिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.