भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र

पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र

अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो । बुधबार अमलेखगञ्जस्थित कार्यालयमा सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै कार्यालयका प्रमुख प्रदीपकुमार यादवले आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

उक्त योजनाअन्तर्गत चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरिने छ । त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माणसमेत यही योजनाअन्तर्गत निर्माण हुनेछ । लिखिता इन्फास्ट्रक्चर प्रालिले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी सबै पूर्वाधार निर्माणको ठेक्का दिइएको कार्यालयले जनाएको छ ।

उक्त योजनाका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्तरुपमा लगानी गर्ने गरी सम्झौता गरेका छन् । यसअन्तर्गत दुई पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एक÷एक ट्याङ्कको लागत बेहोर्नेछन् । त्यस्तै, पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय पक्षले निर्माण गरिदिनेछ । यसो गर्दा आइओसीले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।

निगमले एउटा पेट्रोल ट्याङ्क, २४ रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्नेछ । यो समेत गरी निगमको एक अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान रहेको उहाँले बताउनुभयो । यो आयोजना यही वर्षको डिसेम्बरसम्म निर्माण सम्पन्न भई अङ्ग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

योसँगै २०७६ भदौदेखि डिजेल मात्रै आयात भइरहेको पाइपलाइनबाट पेट्रोल समेत आयात सुरु हुनेछ । एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो । आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुनेछ ।

यसबाट अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्याङ्करको सङ्ख्या शून्य हुनेछ । यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख यादवको भनाइ छ । यसबाट वार्षिक करिब रु १५ करोड बचत हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ । ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार यसपछि थप पाँच÷पाँच हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारीसमेत सुरु गरिएको उहाँको भनाइ छ । यसको ठेक्का रेलिगेर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । उक्त योजना समेत निर्माण सम्पन्न भएपश्चात् पाँच दिनको माग धान्नसक्ने डिजेल र सात दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.