मोरङ । उर्लाबारीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । फक्ताङ्लुङ गाउँपालिका–२ ताप्लेजुङ घर भई मोरङमा बसेर विप्लव नेतृत्वको नेकपाको गतिविधीमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
पक्राउ परेका शेर्पाको साथबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरु पनि बरामद भएको एसपी खड्काले बताए । विशेष सूचनाका आधारमा शेर्पालाई राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ ७ बजेतिर पक्राउ गरिएको हो ।
पक्राउपछि हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको प्रहरीले बताएको छ ।हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
