काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
प्रतिनिधि सभाको शुक्रबार ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने भएका हुन । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सुरुमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम पारित हुने छ । त्यसपछि संसदमा आर्थिक वर्ष २०८० र ८१ को बजेट प्रस्तुत हुनेछ । संविधानको व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने छ । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसके पनि प्रतिनिधि सभामा छलफल जारी छ ।
