काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धि सम्मेलन (कोप–२६०) मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गरेका छन् । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी)को २६औँ सम्मेलन (कोप–२६०) मा सहभागी हुन २० सदस्यीय प्रतिनिधिमण्डलको टोलीसहित देउवाले प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको टोली कतार एयरको उडानबाट लन्डन प्रस्थान गरेको हो । देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि भने यो उनको पहिलो विदेश भ्रमण हो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट रहेका छन् ।
यस्तै भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै लन्डन गएका छन् ।
ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुनेछ । सो सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्रीसहितको टोली कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
