म्याग्दीको धवलागिरि क्षेत्रमा रैथाने गाईगोरु पाल्ने परम्परा घट्दै गएको छ ।
मिनीटिलर, ट्याक्टर र उन्नत जातका पशुपालनले स्थानीय गाईगोरुको महत्त्व घटाएको छ ।
आठ वर्षमा गाउँपालिकामा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ ।
२०७४ मा ६ हजार ७५६ रहेकामा अहिले ४ हजार ४११ गाईगोरु रहेको तथ्याङ्क ।
धार्मिक तथा सांस्कृतिक कामका लागि गाईको दूध र गहुँत जुटाउनसमेत समस्या हुन थालेको छ ।
म्याग्दी, २४ कार्तिक । आधुनिक कृषि प्रविधि, उन्नत जातका पशुपालन र जनशक्ति अभावका कारण म्याग्दीको धवलागिरि क्षेत्रमा रैथाने गाईगोरु पाल्ने परम्परा सङ्कटमा पर्दै गएको छ । कुनै समय घरघरमा पालिने स्थानीय जातका गाईगोरु अहिले खोज्नसमेत मुस्किल हुन थालेका छन् ।
धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले रैथाने गाई पाल्न छाडेको पाँच वर्ष भइसक्यो । झण्डै तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्दै आउनुभएका पुन अहिले भैँसीपालनमा लाग्नुभएको छ । खेतबारी खनजोत गर्न मिनीटिलरको प्रयोग बढेपछि गाईगोरु पाल्ने चलन घटेको उहाँको भनाइ छ ।
उहाँजस्तै धेरै किसानले गाईगोरु पाल्न छाडेपछि स्थानीय जातका पशुको सङ्ख्या घट्दै गएको छ । धवलागिरि गाउँपालिका–७ ताकमका मनबहादुर चपाईँलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत जुटाउनसमेत समस्या हुन थालेको छ ।
गुर्जा, लुलाङ, मुना, मुदी र मल्कवाङ क्षेत्रमा घुम्ती गोठको सङ्ख्या घट्दै गए पनि गाईगोरु पाल्ने परम्परा पूर्ण रूपमा भने हराइसकेको छैन ।स्थानीय जातका गाईगोरुले धार्मिक, सांस्कृतिक, जैविक तथा पर्यावरणीय महत्त्व बोकेका छन् ।
तर उत्पादन लागत घटाउने र आम्दानी बढाउने उद्देश्यले किसान उन्नत तथा वर्णशङ्कर जातका गाईभैँसी पालनतर्फ आकर्षित भएपछि रैथाने पशुको महत्त्व घट्दै गएको छ ।
धवलागिरि गाउँपालिका–७ का इन्द्रलाल पौडेलका अनुसार बढी दूध दिने उन्नत जातका गाईभैँसी पाल्ने क्रम बढ्नु र खेतबारी खनजोतमा ट्याक्टर तथा मिनीटिलरको प्रयोग हुनुले स्थानीय गाईगोरु विस्थापित हुँदै गएका हुन् । सरकारले समेत आधुनिक प्रविधि र बढी दूध दिने पशुपालनलाई प्राथमिकता दिँदा उन्नत तथा वर्णशङ्कर जातका पशुको पालन बढेको उहाँको भनाइ छ ।
गाउँपालिकाको पशुपन्छीसम्बन्धी तथ्याङ्कले पनि स्थानीय गाईगोरुको सङ्ख्या घट्दै गएको देखाउँछ । आठ वर्षको अवधिमा धवलागिरि गाउँपालिकामा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ । २०७४ सालको सर्वेक्षणमा गाउँपालिकामा छ हजार ७५६ गाईगोरु रहेकामा अहिले चार हजार ४११ मात्र रहेको पशु सेवा शाखा प्रमुख चन्द्रकला दाहालले जानकारी दिनुभयो ।
याँ पुस्ताको आकर्षण घट्दै जाँदा घुम्ती गोठसँगै स्थानीय जातका गाईगोरु पनि सङ्कटमा पर्दै गएका छन् । कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको अभिलेखअनुसार नेपालमा पाइने आठ प्रजातिका गाईमध्ये म्याग्दीलगायत पहाडी जिल्लामा पालिने गाईलाई पहाडी जातका रूपमा चिनिन्छ । यी गाई भुटान, सिक्किम र दार्जिलिङबाट नेपाल भित्रिएको अभिलेखमा उल्लेख छ ।
