भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टा नाकाबाट एक महिनामै ९८ करोडको अलैँची निर्यात | फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण, खाद्य सामग्री नष्ट भएको आरोप इरानमाथि | कृषि एम्बुलेन्सले जोड्यो हेलम्बुका किसानलाई राजधानीको बजारसँग, ३०० किलो सयपत्री बिक्रीका लागि काठमाडौँमा | हिमपात र चिसो बढेपछि २०० भेडासहित बेसी झर्दै बाजुराका किसान | दरबारमार्गको लिक्विड लाउन्जमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा | घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा | भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल |

फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण, खाद्य सामग्री नष्ट भएको आरोप इरानमाथि

फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण, खाद्य सामग्री नष्ट भएको आरोप इरानमाथि

पेरिस । फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको शीतभण्डारण प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ । फ्रान्सेली अधिकारीहरूले आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध समूह संलग्न रहेको निष्कर्ष निकालेका छन् ।

गत अक्टोबर १२ मा भएको आक्रमणका क्रममा करिब छ घण्टासम्म सुपरमार्केटका फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको बताइएको छ । फ्रान्सका करिब १० हजार सुपरमार्केटमध्ये ७०० प्रभावित हुँदा ताजा तथा जमाइएका खाद्य सामग्री नष्ट गर्नुपरेको थियो ।

इन्टरमार्च सुपरमार्केट समूहले एकै दिनमा दशौँ लाख युरो बराबरको नोक्सानी भएको जनाएको छ । फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकाय एएनएसएसआईले ‘शाहिद काभेह’ समूहलाई आक्रमणको जिम्मेवार ठहर गरेको छ ।

घटनाबारे पेरिसका अभियोजकहरूले सङ्गठित साइबर अपराधसम्बन्धी औपचारिक अनुसन्धान अघि बढाएका छन् । अनुसन्धानका क्रममा आक्रमणकारीले इरानमा रहेका उपकरण, फारसी भाषा र इरानसँग सम्बन्धित इन्टरनेट ठेगाना प्रयोग गरेको पाइएको अधिकारीहरूको भनाइ छ ।

फ्रान्सका विदेशमन्त्री जीन–नोएल बारोटले इरानी राजदूतलाई बोलाएर घटनाप्रति कडा विरोध जनाइएको बताएका छन् । उनले साइबर आक्रमणले फ्रान्सको राष्ट्रिय हित र नागरिकको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गर्दै संलग्न व्यक्तिहरूमाथि युरोपेली प्रतिबन्ध लगाइने बताएका छन् ।

अभियोजक लोरा बेकुआउका अनुसार आक्रमणकारी समूहका नेता, उनका दुई सहयोगी र अन्य सम्भावित संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको छ । उनीहरूविरुद्ध अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गराउने तयारीसमेत भइरहेको छ ।

यसैबीच, गत साता फ्रान्सका केही रक्त सञ्चय केन्द्रमा तापक्रम बढाउने उद्देश्यले अर्को साइबर आक्रमणको प्रयास भएको थियो । तर रगतका उत्पादनमा क्षति पुग्नुअघि नै उक्त प्रयास विफल पारिएको अधिकारीहरूले बताएका छन् ।

स्विडेन, बेल्जियम, लक्जमबर्ग, आयरल्यान्ड र इस्टोनियाका सुपरमार्केटमा पनि साइबर आक्रमणको आशङ्कामा फ्रिज तथा फ्रिजरमा समस्या देखिएको बताइएको छ । एएनएसएसआईका अनुसार सन् २०२० यता फ्रान्सविरुद्ध भएका अन्य साइबर आक्रमणमा पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद सुओस्तारी’ समूहको संलग्नता रहेको पाइएको छ ।

तीमध्ये सन् २०२३ मा व्यङ्ग्यात्मक पत्रिका ‘चार्ली हेब्दो’ र सन् २०२४ मा पेरिस ओलम्पिकलाई लक्षित गरिएका साइबर आक्रमणसमेत रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.