‘प्रसिद्ध पर्यटकीय स्थल काभ्रेको नमोबुद्ध’

‘प्रसिद्ध पर्यटकीय स्थल काभ्रेको नमोबुद्ध’

काठमाडौं । धार्मिक तथा साँस्कृतिक महत्व बोकेको पर्यटकीय स्थल नमोबुद्ध पछिल्लो समय नयाँ पुस्ताका लागि मनोरञ्जनसंगै पिकनिक हब बनेको छ । राजधानीपूर्वको पर्यटकीय जिल्ला काभ्रेको नमोबुद्ध पिकनिक पारखीहरूका लागि “पिकनिक हब” बन्दै गएको हो ।

समय समयमा अर्थात कात्तिकदेखि वैशाख महिनासम्म काभ्रेका विभिन्न स्थानमा पिकनिकका लागि आउनेको घुइँचो लाग्ने गरेको देखिन्छ ।धुलिखेल, दोलालघाट, पलाञ्चोक र नगरकोट क्षेत्रमा पिकनिक पार्क समेत खोल्ने गरेको छ ।

पछिल्लो समय यहाँ  विद्यालयले विद्यार्थिहरुलाई भ्रमण ल्याउने गरेको पनि पाईन्छ । प्रसिद्ध धार्मिक स्थल भएको हुनाले पनि होला नयाँ बर्ष मनाउन यहाँ आउने युवा युवतीको भिड लाग्ने गर्छ ।

Namobuddhप्रमूख पर्यटकीय स्थल
एक प्रमुख पर्यटकीय स्थल मानिएको नमोबुद्धकोे रमणीय दृश्यले यहाँ आउँने जो कोहीको मन लोभ्याउने गर्दछ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँ भएकाले पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । प्राचिन महत्व बोकेको मठ मन्दिरहरु भएकाले अध्यन, अवलोकन गर्नेहरु पनि धेरै आउने गर्दछन् ।

नमोबुद्ध बौद्धमार्गीको प्रख्यात र प्रसिद्ध धार्मिक आस्थाको केन्द्रको रुपमा पनि परिचित छ । स्वच्छ वातावरण, मनमोहक दृश्यले गर्दा यहाँ आन्तरिक तथा वाह्य पर्यटकका लागि नमोबुद्ध आकर्षणको केन्द्र बनेको छ । यहाँ नेवार र तामाङ समुदायका मानिसले मिलेर जात्रा मनाउने प्रचलन पनि छ ।

जात्रामा आन्तरिक तथा वाह्य पर्यटकहरु पनि आउने गर्दछन् । यहाँ आउनेहरुको अर्को आकर्षणको केन्द्र हो शान्ति दिप । मनोकामना पुरा होस् भनेर यहाँ लाखौं दिप प्रज्वलन गर्ने चलन पनि छ ।

ऐतिहासिक महत्व
एतिहासिक महत्वको हिसाबले पनि यस ठाउँलाई महत्वका साथ हेरिने गरेको छ । यहाँ करिब ६ हजार बर्ष पहिले सिंघतछेन्पो नाम गरेका राजाले राज्य गर्थे । ड्राआछेन्पो, लाहाछेन्पो र सेमचेन छेन्पो गरि उनका ३ भाई छोरा थिए । जेठो र माईलो छोरा राजकाल एवं यूद्धकलामा निपूर्ण थिए भने कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभाव थिए ।

एक दिन कान्छो छोरा सेमचेन छेन्पोले पाँचवटा डमरु र भोको बाघिनि अचेत अवस्थामा सुतिरहेको देखेपछि आफ्नो तिघ्राको मासु टुक्रा टुक्रा पारी छाति खोपेर रगत निकालि बाघिनिलाई खुवाए र छोरा मृत अवस्थामा भेटिएपछि राजाले छोराको कंकाल शरीरलाई बाकसमा हालेर गाडे । त्यसपछि चैते बनाएर पूजा गरे । उक्त पूजा गर्ने क्रममा आकाशवाणी भयो ।

चैतेमा बुद्धरश्मि प्रकट भई राजारानीलाई मृत छोरा नै भगवान बुद्ध हूने भनेर बताएको ऐतिहासिक किम्बदन्ति छ । त्यसैकारण नमोबुद्ध धार्मिक र पर्यटकीय नगरको रुपमा परिचित छ । नमोबुद्ध मात्रै होइन यहाँका अन्य धेरै क्षेत्र पर्यटकीय हबकै रुपमा रहेका छन् ।

धुलिखेलकै अड्डा बजार, हजार सिँढी, देवीस्थान डाँडा, बनेपाको गोसाईथान, भकुण्डेको नौबिसे, पनौतीलगायतका स्थानमा शनिबार र बिदाको दिन निकै भिड लाग्ने गरेको पाइन्छ । देशका विभिन्न भागका विद्यालय, क्याम्पस, क्लब, सहकारी, महिला समूह, कृषक समूह, टोल सुधार समिति पिकनिकका लागि आउने गर्दछन् ।

picnicपलाञ्चोक पिकनिक
उच्च भागमा रहेको पलाञ्चोकमा चिसो मौसममा पारिलो घाम ताप्दै, नाचगान गरेर रमाउनेहरुको भिडलाग्ने गर्दछ । यहाँबाट उपत्यका, पाँचखाल, कोशीपारीका क्षेत्रे अवलोकन गर्न पाइने भएको हुदा यहाँ पनि निकै भिडभाड लाग्ने गर्दछ । यहाँ अझ पारिवारिक पिकनिक गर्न आउने बढी भेटिन्छन् ।

Namobudha पिकनिक खाने शैलीले आम्दानी बढ्यो
पिकनिक खानेहरुको भिडभाड लाग्ने भएपछि काभ्रे जिल्लाको आम्दानी पनि बढेको छ । पिकनिक पार्क सञ्चालकहरूले यसबाट राम्रै कमाई भएको बताउँछन् ।

खानेपानीको समस्याले हैरानी
अधिकांश पिकनिक स्पटहरुमा पानीको समस्या भएकाले सञ्चालकहरू पानी किनेरै उपलब्ध गर्नमै हैरानी खेपिरहेका देखिन्छन् । धेरै ठाउँका पिकनिक स्पट डाँडामा सञ्चालन भएकाले पनि पानी किनेर संचालन गर्नु परेको संचालकहरु बताउँछन् ।

नमोबुद्ध, गोसाईथानमा पनि पानी पर्याप्त नहुदाँ पिकनिक खान पुग्ने र सञ्चालकहरू निकै मर्कामा परिरहेको देखिन्छन् । पिउनका लागि जारको पानी र सरसफाइका लागि गाडीबाट पानी लैजाने गरेकोले यसको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिन जरुरी भएको संचालकहरु बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.