दाङ । जनकल्यान सामुदायिक वनमा मृत फेला परेका किशोरकिशोरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका–१३ डाँडागाउँस्थित १५ वर्षीया रोशनी महतारा र दङ्गीशरण गाउँपालिका–६ थपगाउँ घर भई तुलसीपुर–१३ दमारगाउँस्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्यको हत्यामा संलग्न भएको भन्दै तुलसीपुर–१३ निवासी ३९ वर्षीय गणेश भन्ने हरिशचन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भन्ने अम्मरराज कार्कीलाई सार्वजनिक गरिएको हो ।
बँदेल मार्नका लागि थापेको विद्युतिय पासोमा परेर दुवै जनाको मृत्यु भएको हो । असोज २७ गते राति १० बजेतिर गणेश भन्ने हरिषचन्द्र पौडेलको घरबाट विद्युत् लिएर नजिकैको जङ्गलमा बँदेल मार्नका लागि पासो थापेको र त्यही पासोमा परेर उनीहरुको राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।
पासो थापेका अमरराज कार्की र गणेश भन्ने हरिशचन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुवै जना मृतावस्थामा फेला पारेका थिए । त्यसपछि उनीहरु दुवैले सल्लाह गरेर शवलाई जङ्गलको झाडीमा फाले । उनीहरुसँग भएका मोबाइल र चप्पललाई समेत जङ्गलको झाडीमा लुकाईछिपाई राखे ।
सोही दिन राति १० बजेतिर अमरराज कार्की, पौडेलसहित खिमबहादुर बुढा र नुमानन्द कार्कीले ती शवलाई गाड्ने सहमति गरे । त्यो सहमतिपछि अमरराज कार्कीको घरबाट फोरुवा ल्याएर उनीहरुले करेन्ट लागेदेखि नजिकैको खोल्सोमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक वलीले बताए ।

