काठमाडौं । बाक्लो हुस्सुका कारण भिजिबिलिटी ह्वात्तै घटेपछि त्रिभुवन विमानस्थलमा विहानदेखि उडान तथा अवतरण सेवा अवरूद्ध भएको थियो ।
भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द गरिएका थिए । सामान्यता दिउसो देखि उडानका लागि भिजिबिलिटी ३ हजार मिटर अर्थात सो भिजिबिलिटी पुगेपछि उडान सुचारु भएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
विदेशबाट आएर काठमाडौँ र सिमराको आकाशमा होल्ड भएका ४ विमानहरू केही समय अघि अवतरण भएका छन् । अहिले आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको प्रशासनले जनाएको छ ।
आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान भएको छ भने यसअघि बिहान कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाएर होल्ड भएका थिए ।
शुक्रबार बिहानैबाट देशभर लागेको बाक्लो हुस्सु बिहान ११ बजेपछि मात्र क्रमिक सुधार हुदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
