काठमाडौं । गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ । यसअघि बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन आज बैठक बोलाइएको कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बालुवाटारमा बिहान नौ बजे बस्नेगरि बैठक बोलाइएको छ ।
बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइनेछ। पाँच दलीय सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएको छ । त्यसका लागि सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो ।
नेपाली कांग्रेसले १०० सिटवाट ९० मा झरेको छ भने माओवादी केन्द्रले ६० को चाहिने अडान राखेको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले ३० सिट पाउनुपर्ने दाबी गरेको छ । जसपाले सोही अनुपातमा पाउनुपर्ने अडान राखेको छ । जनमोर्चाले प्युठान र बाग्लुङमा दुई क्षेत्र चाहिने दाबी पेस गरेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने करिबकरिब सहमति भएको र बिहान ९ बजेदेखि प्रतिवेदन लेखन सुरु हुने बताए । सार्वजनिक रूपमा सहमतिनजिक पुगेको बताएपनि अवस्था त्यस्तो नरहेको कार्यदलका नेताले बताए ।
असोज २ गते निर्वाचन आयोगले समानुपातिकको बन्दसूची पेस गर्ने समय तोकेकाले गठबन्धनल त्यसअघि सिट बाँडफाँटको सकस टुंग्याउनुपर्ने दबाबमा रहेको छ । प्रत्यक्षतर्फ समेट्न नसकिएका व्यक्तिलाई समानुपातिकतर्फ राख्नुपर्ने बाध्यता कारण सत्तारुढ दलहरुले सिट बाँडफाँट टुंग्याउन निरन्तर बैठक बस्दै आएका छन् ।
