काठमाडौं । १८ वर्षमुनिका बालबालिकाका लागि सरकारले एक करोड डोज खोप ‘बुक’ गरेको छ । तीन करोड २० लाख डोज खोप पाइपलाइनमा रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग छलफलमा भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न मन्त्रीले आग्रह गरेका थिए।
शिक्षामन्त्रीले बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्ने भनेपछि त्यसको व्यवस्थापनमा मन्त्री खतिवडाले जोड दिएका हुन । कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४ सय ४९ विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ ।
पाँचदेखि नौ वर्ष उमेर समूहका ३१ लाख नौ हजार १ सय ७५ विद्यार्थी रहेका छन् भने नौदेखि माथि उमेर समूहका ३६ लाख ४२ हजार २ सय ७४ रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बताए।
१२ वर्षभन्दा मुनिका बालबालिकालाई भने डब्लुएचओले कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन ।

