भक्तपुर । ११९ औं स्थापनाको अवसरमा भक्तपुर अस्पतालले पहिलो पटक बालबालिकाका लागि आइसियु सेवा सञ्चालनमा ल्याएको छ । वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा भने नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने बाध्यता थियो ।
अहिले त्यो बाध्यताको अन्त्य भएको छ । पहिलोपटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआइसियु सञ्चालनमा ल्याउन अस्पताल सफल भएकोमा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा बेला बेलामा समस्या हुने गरेको थियो ।
तर, अब त्यो समस्या अन्त्य भएको छ भने स्थानीय नागरिक पनि खुशी भएका छन् । फागुन १ गते आइतबारदेखि सञ्चालनमा आएको १० शैया बच्चा र १८ वर्षभन्दामुनिकाका बालबालिकाका लागि १० शैयाको भेन्टिलेटरसहित आइसियु सञ्चालनले सेवामा थप सहजता पाएको डा. गौतमले बताइन् । आवश्यक सबै तयारी पूरा गरेर जनशक्तिसमेत परिचालन गरिसकिएको उनको भनाइ छ ।
तीन वर्ष अगाडिसम्म आइसियु नै नभएको भक्तपुर अस्पतालमा मेसु डा. सुमित्रा गौतम आएपछि यो अस्पतालले मुहार मात्रै फेरेको छैन देशका ७६ बढी ठाउँका नागरिकले समेत सुलव सेवा यस अस्पतालबाट लिएका छन् । डेढ वर्षदेखि भेन्टिलेटरसहितको १६ आइसियु सञ्चालनमा रहेको यस अस्पतालमा मेसु डा गौतमसहित अस्पताल परिवारको पहलमा थप सेवा समेत विस्तार गरिएको छ ।
हाल भेन्टिलेटरसहितको ६ शैयाको आइसियू कोरोना संक्रमितहरुका लागि प्रयोग भइरहेको छ । भेन्टिलेटरसहितको १० शैयाको आइसियु अरु बिरामीका लागि प्रयोगमा छ । बच्चाको २० शैयाको आइसियु सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटरसहितको ३६ शैयाको आइसियु सञ्चालन हुने डा गौतमले बताइन् ।
कोरोनाका विरामीको चाप बढेपछि अस्पतालले अक्सिजनसमेत उत्पादन सुरु गरी सेवा दियो । अस्पतालको लिक्विड प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको उनको भनाइ छ । अब फागुन २ गतेदेखि ग्याँस अक्सिजन पनि उत्पादन सुरु गर्ने लक्ष्य अस्पतालले लिएको छ ।
दैनिक १५० सिलिण्डर ग्याँस अक्सिजन उत्पादन सुरु गर्न लागिएको, लिक्विड र ग्याँस गरेर २०० सिलिण्डर अक्सिजन उत्पादन हुने, अब अक्सिजनको अभाव सृजना नहुने अस्पताल प्रशासनले जनाएको छ । अरु अस्पताललाई समेत अक्सिजन दिने अवस्था आएको छ । अस्पतालमा यसभन्दा पहिले सिलिण्डर घिसार्दै बेडमा लैजानुपर्ने समस्याको अन्त्य भएको विरामीका कुरुवाले बताए ।
कोरोना भाइरस सङ्क्रमणको महामारीले अल्जाइमरका रोगी बढेपछि अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिकसमेत सेवा सञ्चालनमा ल्याएपछि दैनिक सेवा लिनेको भीड देखिन्छ । अस्पतालको अको सफल्ता बेरुजु शून्यमा झारेको छ ।
मेसु डा गौतम आएपछि भक्तपुर अस्पतालमा भएको सुधारकै कारण अस्पताल सुदृढीकरण मूल्याङ्कन ३८ बाट ८२ पु¥याउन सफल भएपछि बागमती प्रदेश सरकारबाट यस वर्ष उत्कृष्ट अस्पतालको पुरस्कारसमेत पाएको हो । रिफर सेन्टरको उपमा पाएको यस अस्पतालले डा. गौतम लगायत चिकित्सकको साथ पाएपछि अस्पतालको सेवामा सुधार भएको कर्मचारी बताउँछन् ।
दैनिक ८०० बढी बिरामीले सेवालिइरहेको यस अस्पतालमा बिरामीको बढ्दो चाप र सेवा विस्तारका लागि भने थप भवन अभाव रहेको अस्पताल प्रशासनले बतायो । साझालाई भवन छाड्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेको भन्दै अस्पताल प्रशासनले यसको विकल्प चाडै खोजिने जिकिर गरेको छ ।
