बालेनको एक्सनले व्यापारी आक्रोशित, नागरिकमा भने उत्साह

बालेनको एक्सनले व्यापारी आक्रोशित, नागरिकमा भने उत्साह

काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाको ३५ दिने सूचनालाई पनि अटेरी गरी व्यापार गरिरहेका व्यापारी यतिबेला आक्राशित बनेका छन् ।

मेयर बालेन्द्र शाहको पछिल्लो ‘एक्सन’ले व्यापारी मात्रै होइन मापदण्ड बेगर जग्गा हडपेर बसेका घरधनी पनि झस्किएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता मौन छन् भने सर्वसाधारण नागरिक मेयर शाहको एक्सन राम्रो भन्दै उत्साहित भएका छन् ।

सम्बन्धित घरको नक्सा र महानगरको ३५ दिने सूचना बोकेर मेयर शाह दैनिक डोजर लिएर आफैँ मैदानमा उत्रिएपछि बल्ल काठमाडौंले स्वास फेर्न थालेको महशुुस गरेका छन् ।

इञ्जिनियरिङ विषयका जानकार भएकाले उनलाई नक्सा विपरीत बनेको संरचना पत्ता लगाउन र उतिखेरै ‘एक्सन’मा उत्रन सजिलो भएको छ । अवैध संरचना भत्काउनुअघि महानगरले ३५ दिने सूचना निकालेको थियो ।

तर घरधनी र व्यापारीले उक्त सूचनालाई बेवास्ता गरिरहेका थिए । कतिपय व्यापारीले भने ३५ दिने सूचना थाहा नपाएको गुनासो गरेका छन् । काठमाण्डौ मलमा फेन्सी पसल चलाउने व्यापारीले महानगरले कुनै सूचना नै नगरि एक्कासी डोजर लिएर आएर पसल भत्काएको भन्दै आक्रोशित भएका छन् ।

दशैँको मुखमा आएर आफ्नो ५० लाखको नोक्सानी गरेकोमा त्यसको क्षतिपूर्ति कसले दिने ? भनेर प्रश्न गरेका छन् । व्यापारीहरुले आफूहरुलाई विना कुनै जानकारी तथा सूचना भत्काएको भन्दै व्यापारी उमेश यादवले विरोध गरे ।

तर त्यही आसपासका अरु नागरिक भने महानगरको कदमबाट निकै उत्साहित भएको बताउँछन् । काठमाण्डौ मलको अवैध संरचनामा डोजर चलिरहँदा पुल्चोककी अनिता नगरकोटीले खुसी व्यक्त गरिन् । उनले भनिन्,

‘मान्छे हिँड्ने ठाउँ नै नहुनेगरी यसरी अवैध निर्माण गर्न पाइन्छ ?’ ‘उता रोड छ यता फुटपाथमा हिँड्ने ठाउँ छैन । अब हामी कहाँबाट हिँड्ने ? यो कदम एकदमै सही छ । नागरिकलाई हिँड्ने ठाउँ नै नराखेर व्यापारीले दम्भ चलाइरहेका थिए यो मलाई ठिक लाग्यो ।’

महानगरले डोजर लगाएर भत्काएपछि काठमाडौं खुला देखिएको छ । काठमाण्डौ महानगरले नक्सा पास नगरि बनाएको गैरकानुनी संरचना भत्काएको भन्दै ठिकै गरेको भन्ने धेरै छन् । सरकारी जग्गा अतिक्रमण गरी टहरा बनाउनु गलत हो ।

भत्काउनु जायज हो । महानगरले अन्यत्रको अवैध संरचनासमेत भत्काउन पर्ने नागरिकले आवाज उठाइरहेका छन् । तर पसले तथा व्यापारी भने गलत हो भनिरहेका छन् । नेपाल वायुसेवा निगममा काम गर्ने वीरबहादुर तामाङले पनि काठमाडौंको स्वरुप बदलिएको बताए ।

महानगरले नक्सा पास नगरि बनाएका संरचना वा नक्सा एकाथरी अनि उपयोग अर्कोथरी गरिरहेका अवैध संरचना भत्काउन जरुरी थियो भन्दै नागरिकले मेयर बालेन शाह र महानगरलाई धन्यवाद दिएका छन् ।

महानगरले गएको साउन १ गते ३५ दिने सूचना जारी गर्दै घर तथा भवन निर्माण गर्दा नक्सा पास भए बमोजिम प्रयोग गर्न निर्देशन दिएको थियो ।

महानगरले यो सूचना विशेष गरी अण्डरग्राउन्ड पार्किङका लागि नक्सा पास गर्ने तथा त्यस विपरीत पार्किङका लागि प्रयोग नगरि पसल तथा अन्य व्यापारिक प्रयोजनमा लगाउनेका विरुद्ध अहिले धमाधम संरचना भत्तकाउने कार्यलाई तिब्रता दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.