माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाण्डौ । पटक–पटक स्थगित हुँदै आएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन तथा कार्यविभाजन कार्यसूचीमा रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बताए।

बैशाख ३० गते भएको पालिका चुनावको समीक्षा तथा आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव तयारीबारे पनि छलफल हुने बताइएको छ । पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो ।

अध्यक्षबाहेकका अन्य पदाधिकारी अहिलेसम्म चयन हुन सकेको छैन । आठौँ महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ तर पदाधिकारीको सङ्ख्या भने तोकिएको छैन ।

महाधिवेशनले २ सय ९९ केन्द्रीय समिति रहने व्यवस्था गरेको छ । थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ ।

मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ । महाधिवेशन सम्पन्न भएपछि पटक–पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गएको जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेलाई सारिएको थियो । असार १५ गतेबाट १९ गतेका लागि तोकिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.