भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

महोतरी । मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प नाग प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ । घरमूली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा भुटेको धान, जुनेलो चढाउँछन् ।

साउन मध्य बर्खाभित्र पर्ने र यो बेला सर्पादिको भय हुने हुँदा नाग पूजाको परम्परा चलेको मैथिल पुरोहित बताउँछन् । घरको भित्तामा गाईको गोबरले नागचित्र कोरेर पूजा गरिएपछि वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको बर्दिवास नगरपालिका–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झा  ले बताए ।पर्वमा घरका चारै सुरका भित्तामा नागचित्र कोरिनुका साथै मुख्यद्वारमा कागजमा कोरिएको बनाइएको चित्र पनि टाँसिन्छ । घरआँगनको मध्यभागमा गाईको गोबरले लिपेर बनाइएको वेदीमा गोबरकै कुण्डमा घरकी मुख्य गृहिणीले दूध, लावा चढाएर नागमहिमा वर्णन गर्दै घरका सबैको रक्षा गर्न नागदेवतासँग पुकारा गर्छिन् ।

मिथिलामा ‘लगपाँच’ पर्व हिन्दू परम्पराका पर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । ‘लगपाँच’ लगत्तै राखी रक्षाबन्धन, त्यसलगत्तै कुशे अमावश्या, चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दशैँ, दिवाली दीपावली, तिहार र छठ लगालगी आउने हुँदा यो पर्वलाई पूर्वसूचना मान्ने गरिएको पाका मैथिल बताउँछन् । हिन्दू परम्परा सबै जीवप्रति समभाव राख्ने र प्रकृति पूजक भएको हुँदा सर्पादिको बढी चहलपहल हुने साउनमा नागपूजाको परम्परा बसेको कर्मकाण्डी पुरोहित बाह्मण झा  ले बताए । हिन्दू मैथिल परम्परामा विभिन्न जीव र वनस्पतिको पूजा आराधना तिनको महत्व झल्कने समय ऋतु, महिना अनुसार गरिने चलन रहेको झाको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.