भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

महोतरी । मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प नाग प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ । घरमूली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा भुटेको धान, जुनेलो चढाउँछन् ।

साउन मध्य बर्खाभित्र पर्ने र यो बेला सर्पादिको भय हुने हुँदा नाग पूजाको परम्परा चलेको मैथिल पुरोहित बताउँछन् । घरको भित्तामा गाईको गोबरले नागचित्र कोरेर पूजा गरिएपछि वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको बर्दिवास नगरपालिका–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झा  ले बताए ।पर्वमा घरका चारै सुरका भित्तामा नागचित्र कोरिनुका साथै मुख्यद्वारमा कागजमा कोरिएको बनाइएको चित्र पनि टाँसिन्छ । घरआँगनको मध्यभागमा गाईको गोबरले लिपेर बनाइएको वेदीमा गोबरकै कुण्डमा घरकी मुख्य गृहिणीले दूध, लावा चढाएर नागमहिमा वर्णन गर्दै घरका सबैको रक्षा गर्न नागदेवतासँग पुकारा गर्छिन् ।

मिथिलामा ‘लगपाँच’ पर्व हिन्दू परम्पराका पर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । ‘लगपाँच’ लगत्तै राखी रक्षाबन्धन, त्यसलगत्तै कुशे अमावश्या, चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दशैँ, दिवाली दीपावली, तिहार र छठ लगालगी आउने हुँदा यो पर्वलाई पूर्वसूचना मान्ने गरिएको पाका मैथिल बताउँछन् । हिन्दू परम्परा सबै जीवप्रति समभाव राख्ने र प्रकृति पूजक भएको हुँदा सर्पादिको बढी चहलपहल हुने साउनमा नागपूजाको परम्परा बसेको कर्मकाण्डी पुरोहित बाह्मण झा  ले बताए । हिन्दू मैथिल परम्परामा विभिन्न जीव र वनस्पतिको पूजा आराधना तिनको महत्व झल्कने समय ऋतु, महिना अनुसार गरिने चलन रहेको झाको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.