‘मेरो जोखिम भत्ता खोई ?’

‘मेरो जोखिम भत्ता खोई ?’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा संलग्न जनशक्तिलाई सरकारले जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो तर डाक्टर अजित मलिकले नपाएको गुनासो गरेका छन् ।

यो निर्णय गरेको एक वर्ष बढी समय गुज्रिसक्दा पनि अहिले सम्म उक्त भत्ता नपाएको भन्दै डा. मलिक धर्नामा बसेका हुन् । कोरोना महामारीको त्रास फैलिएको र नियन्त्रणका उपाय अबलम्बन गरिएको पनि धेरै भइसकेको छ, तर उपचारमा खटिएका डा. अजित आफै कोरोना संक्रमित भई निको भइसक्दा समेत जोखिम भत्ता नपाएको भन्दै सडक संघर्षमा छन् ।

“मेरो कोभिड–१९ को भत्ता हराएको सूचना…कृपया पाउने महानुभावले ९८४१६८००१९ मा सम्पर्क गरिदिनु होला धन्यवाद ! माक्स, सेनिटाइजर र सामाजिक दुरी कायमै छ, तर तपाईको नियत कायम छैन ।”

भन्ने प्लेकार्ड बोकेर डा.मलिक नौ दिन देखि राजधानीको मुटु माइतिघर-मण्डलाको सडकमा धर्ना दिइरहेका छन् । उनको आन्दोलनको शैली भने फरक छ । न त सरकारले चाँसो दिएको छ, न त सरोकारवालाको चाँसोको विषय नै बनेको छ ।

सिभिल अस्पतालमा कार्यरत डा. मलिकले कोभिड भत्ता नपाएसम्म धर्नालाई निरन्तर जारी राख्ने बताएका छन् । बिहान ९ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म अस्पताललाई समय दिन्छन् भने ५ः०० बजे पछि आन्दोलनमा उत्रिन्छन् । आन्दोलनमा भने एक्लै हुन्छन् । उनी भन्छन्, “सरकारले भत्ता दियो होला तर मैले पाएको छैन । मेरो बैंक एकाउण्ट पनि हेर्न सक्नु हुन्छ, सबै कुरा स्पष्ट हुन्छ ।” यसरी बाध्यताले सडकमा आउनु  सरकारसँग भिख नभई श्रमको मूल्य र अधिकार मागेको बताउँछन् ।

को कहाँ चुक्यो ?
नेपाल सरकार मन्त्रिपरिषद्ले ९ चैत २०७६ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा संलग्न जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । भत्ता व्यवस्थापनसम्बन्धी आदेशमा करिब एक दर्जन सेवा र क्षेत्रमा कार्यरत कर्मचारी तथा जनशक्तिले कोरोना जोखिम भत्ता प्राप्त गर्ने उल्यख छ ।

सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा कार्यरत जनशक्तिले पारिश्रमिकको शतप्रतिशत भत्ता पाउँने उल्यख गरिए पनि डा. अजित मल्लिकले भत्ता नपाउनुले को कहाँ चुक्यो ? यो भने चाँसोको विषय बनेको छ । राजधानीमै यस्तो अवस्था छ भने अन्य जनशक्तिलाई जोखिमको भत्ता दियो होला भनेर कसरी भन्ने ?

कति भत्ता पाउँनु पर्ने  ?
संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्तिले सरकारले तोकेको सुरुको तलब स्केलको शतप्रतिशत भत्ता पाउने उल्यख छ ।

उक्त व्यवस्थापनमा शंकास्पद तथा संक्रमण पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्तिले समेत शतप्रतिशत भत्ता पाउने प्रावधान राखिएको छ ।

यस कार्यक्रममा प्रत्यक्ष सहभागी हुन नपरेपनि अप्रत्यक्ष रुपमा खट्नुपर्ने सहयोगी कर्मचारीले पनि ७५ प्रतिशत भत्ता पाउने व्यवस्था गरिएको छ । यस्तो भत्ता पाउने अन्तिम अवधि भने सरकारले कोरोनाको जोखिम सकिएको घोषणा गरेको मिति वा असार मसान्त २०७७ मध्ये जुन छिटो आउँछ, त्यसलाई आधार बनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

 


Thali Mobile Pvt.Ltd.