काठमाडौं । धान रोपेर किसानले दिवस मनाउँदै छन् । कोरोना महामारीका कारण चिन्तामा रहेका किसानले निषेधाज्ञा खुकुलो भएपछि उत्साहका साथ दिवस मनाइरहेका छन् ।
किसानसंगै सरकारले पनि औपचारिक कार्यक्रम गरी धान रोपेर दिवस मनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को आयोजनामा कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङले खुमलटारमा धान रोपेर विवसको उद्घाटन गरेका हुन् । यो समाचार तयार पार्दा सम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ ।
असार १५ महत्वको दिन
असार १५ नेपालका लागि निकै महत्वपूर्ण दिन हो । दहीचिउरा खादै धान रोप्दै आज किसानले ‘मानो रोपेर मुरी उव्जाउने’ दिनका रूपमा लिने गर्दछन् । प्रत्येक वर्ष असार १५ लाई राष्टिय धान दिवसको रूपमा मनाउने गरिन्छ । फरक फरक नाराका साथ सरकारले दिवश मनाउने गर्दछ ।
यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ नेपालभर अठारौँ राष्ट्रिय धान दिवस मनाइदै छ । ‘धान नै जीवन हो’ भन्ने नारासहित संयुक्त राष्ट्र संघले सन् २००४ मा अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि यसैलाई आधार मानेर नेपालले पनि २०६१ साल देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालेको हो ।
आजको दिनलाई नेपालीहरुले परम्परा अनुसार दहीचिउरा खाने दिनका रुपमा पनि लिएका छन् । नेपालको कुल गार्हस्थ उत्पादनमा धानको २० प्रतिशत योगदान रहेको कृषि विशषज्ञले बताएका छन् ।
