काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक गरेको छ। बिहीबार एक कार्यक्रम गरी एकीकृत जलस्रोत नीति सार्वजनिक गरेको हो ।
बृहत् अन्तरक्रियाबाट पहिलोपटक राष्ट्रिय जलस्रोत नीति निर्माण गर्न सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताए । संविधान जारीपछि जलस्रोतको उपयोग तीन वटै तहबाट गर्ने संवैधानिक व्यवस्था भएअनुसार नै नीति तयार पारिएको स्पष्ट पारे।
जलस्रोतलाई सिँचाइमा, जलविद्युतमा र पर्यटन पूर्वाधारको रुपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण पनि राष्ट्रिय जलस्रोत नीतिले अवलम्बन गरेको दावी मन्त्री पुनको छ ।
राष्ट्रिय जल उपयोगको बहुआयामिक आवश्यकताको सहज परिपूर्ति गर्ने, जलस्रोतको बहुआयामिक तथा समन्यायिक विकास र उपयोग गरी राष्ट्रिय उत्पादन वृद्धिमा योगदान पुर्याउने, जलस्रोत क्षेत्र संरक्षण, विकास, व्यवस्थापन र नियमन गर्दा अध्ययन, अनुसन्धान तथ्य एवं प्रमाणका आधारमा गर्ने उद्देश्य राष्ट्रिय जलस्रोत नीतिले राखेको छ।
