filephoto
काठमाडाैं । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन पत्ता लगाउन एन्टिजेन परीक्षण गर्न लागिएको हो ।
परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको भन्दै आगामी आइतबारदेखि देशैभरि एन्टिजेन परीक्षण शुरु गरिने मन्त्रालयका कोभिड–१९ फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले बताए । २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँमा उक्त परीक्षण गरिने उनकाे भनाइ छ । सङ्क्रमित, हटस्पट, ठूला शहर, घना बस्ती र सङ्क्रमणको शङ्कास्पद व्यक्तिमा परीक्षण गरिने छ ।
स्वाबलाई परीक्षण कीटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिन्छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौँ उपत्यकामा एन्टिजेन परीक्षण गर्दा आठ प्रतिशत मानिसमा सङ्क्रमण देखिएको जानकारी दिए । पिसीआर विधिबाट १८ लाख ४९ हजार १ सय ३६ को परीक्षण गरिएको छ ।
