राष्ट्रियसभा निर्वाचन बिहान ९ बजेदेखि मतदान

राष्ट्रियसभा निर्वाचन बिहान ९ बजेदेखि मतदान

काठमाडौं । १९ रिक्त पदका लागि बुधबार बिहान ९ बजेदेखि मतदानको तयारी भएको छ। देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए।

प्रदेश नं १
पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदानस्थल तोकिएको छ।

गण्डकी प्रदेश
प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा रहेका छन्।

निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ।

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्। महामारीको समय भएकाले मतदानका लागि आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.