राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनमा अर्यालको उम्मेदवारी, काँग्रेस ढुलमुले

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनमा अर्यालको उम्मेदवारी, काँग्रेस ढुलमुले

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी सम्बन्धमा निर्णय गरेका छैनन् । उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै छ ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र)की नेत्री अर्यालले सत्ता पक्षबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रले दाबेदारी दिने सहमति भएबमोजिम आइतबार आफूले उम्मेदवारी दिने जानकारी दिइन् ।

लामो समयसम्म एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेश प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् । एमालेका १६, माओवादी केन्द्रका १५ गरी ३१ जना राष्ट्रिय सभा सदस्य छन् ।

उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । कांग्रेसका १०, एकीकृत समाजवादीका आठ, जनता समाजवादी पार्टी नेपालका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् । रिक्त एक पदको उपनिर्वाचन यही माघ २५ गते हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.