काठमाडौं । नेकपा माओवादी (केन्द्र) को भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष सुवोधराज सेर्पालीले पार्टी र संगठनसँग आस्था राख्ने शुभेच्छुकहरू सोचेजस्तै संगठन बनाएर अघि बढ्ने बताएका छन् ।
संगठनलाई गति दिएर नयाँ जीवन प्रदान गरेर अघि बढ्ने बताएका हुन् । आम युवाहरूलाई गोलबन्द गरेर तीन महिने संगठन शुद्धीकरणको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष सेर्पालीले तीन महिनापछिको वाईसीएल भिन्न रूपमा प्रस्तुत हुन सक्ने दाबी गरे ।
केही दिन अघि मात्र पदाधिकारीको टुंगो लगाएको वाईसीएलले ६१ जनाको जम्बो टोलीसहितको टिम खडा गरेको छ । यति ठूलो टिमले कसरी चुस्त काम गर्न सक्छ भन्ने टिप्पणी पनि हुन थालेको छ ।
यस सन्दर्भमा कुरा गर्दै सेर्पाली भन्छन्, ‘सङ्ख्याले काम गर्ने नगर्ने भन्ने कुरै हुँदैन । पदाधिकारी सङ्ख्या आवश्यकताले तय गर्ने गर्दछ, ‘हामीले सानो सङ्ख्याको टिम तयार गर्दै गर्दा धेरै अग्रज साथीहरू छुट्ने भए ।
त्यसैले ६१ जनाको टिम तयार गर्नु प¥यो । हाम्रा योजना यही टिमभित्रबाट पूरा गर्छौ । नेकपा माओवादी केन्द्रबाट परिचालित सहायक संगठनमात्र नभएर वाईसीएललाई अब, स्वचालिन युवा संघठनका रूपमा, आर्थिक समृद्धिका लागि उत्पादनमा केन्द्रीत गराउनेमा पनि आफ्नो पूर्ण ध्यान रहने सेर्पाली बताउँछन् ।
वाईसीएलको नयाँ कार्यसमितिले राष्ट्रियताको मुद्दामा सशक्त भूमिका निर्वाह गर्ने योजना पनि बनाएको छ ।
मिचिएका सीमा क्षेत्रहरू लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत विवादित क्षेत्रमा पुगेर समस्या समाधानका लागि पहल गर्नेसम्मको योजना वाईसीएलले अघि सारेका बताउँदै उनले आगामी मङ्सिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा गठबन्धनका लागि सशक्त भूमिका निर्वाहका लागि वाईसीएल तयार रहेको पनि बताए ।
