नुवाकोट–रसुवा आवतजावत सहज बनाउन ५ झोलुङ्गे पुल निर्माण गरिने।
दुई स्थानमा ५०–५० मिटरका बेलिब्रिज जडान गरिने।
विदुरमा चार शय्याको आपत्कालीन स्वास्थ्य सेवा सुरु।
आकस्मिक, बहिरंग तथा प्रसूति सेवा उपलब्ध हुने।
डब्ल्युएचओको सहयोगमा भिडियो परामर्श सेवा पनि सञ्चालन।
पुरानो बेलिब्रिजसमेत नेपाली सेनासँगको समन्वयमा सञ्चालनमा ल्याउने तयारी।
दीर्घकालीन रूपमा पक्की पुल नि
हेटौँडा, ८ असाेज । बागमती प्रदेश सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धारको कामपछि पुनर्निर्माणलाई तीव्रता दिएको छ। विपद् प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने तथा अवरुद्ध यातायात सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले काम अघि बढाएको जनाएको छ।
यसैक्रममा बागमती प्रदेश सरकारले नुवाकोटको विदुर नगरपालिकामा आपत्कालीन तथा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ। बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री किरण थापा मगरले विदुरस्थित आयुर्वेदिक अस्पतालका केही कोठा व्यवस्थापन गरी चार शय्याको आकस्मिक स्वास्थ्य सेवा शुभारम्भ गर्नुभयो।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नुवाकोटको त्रिशूली नदीमाथिको पुल बगाएपछि बेलकोटगढी, विदुरलगायतका स्थानीय तहको त्रिशूली अस्पतालसँगको सम्पर्क प्रभावित भएको थियो। त्यसपछि स्थानीय नागरिक सामान्य उपचारका लागि समेत काठमाडौं जानुपर्ने अवस्था सिर्जना भएको थियो।
विपद् प्रभावित नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को सहयोगमा केन्द्र सञ्चालनमा ल्याइएको हो। केन्द्रबाट आकस्मिकसहित बहिरंग तथा प्रसूति सेवा उपलब्ध गराइने जनाइएको छ। केन्द्रको शुभारम्भ गर्दै मुख्यमन्त्री थापाले विपद् प्रभावित नागरिकलाई राहत दिन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो।
उहाँले त्रिशूली नदीमा पुल नहुँदा स्थानीयवासीलाई प्रादेशिक अस्पतालसम्म पुग्न कठिनाइ भइरहेको अवस्थामा डब्ल्युएचओको सहयोगमा अस्पताल तथा भिडियो परामर्श सेवा सुरु गरिएको जानकारी दिनुभयो।
“परिस्थिति जस्तोसुकै भए पनि त्यसलाई व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सुरु गरेका छौँ। अब नुवाकोटवासीले आधारभूत स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्नेछ,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री थापाले अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण, औषधि र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। आवश्यकताअनुसार अन्य प्रादेशिक अस्पतालबाट जनशक्ति खटाउने तथा विज्ञ जनशक्ति आवश्यक परे तत्काल करारमा लिएर भए पनि सेवा प्रभावकारी बनाउने गरी बजेट व्यवस्थापन गरिने उहाँले बताउनुभयो।
मुख्यमन्त्री थापाले नुवाकोट र रसुवाबीचको आवतजावत सहज बनाउन तत्काल पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलिब्रिज जडान गरिने जानकारी दिनुभयो। रसुवादेखि नुवाकोटसम्म अत्यावश्यक पाँच स्थानमा तत्काल झोलुङ्गे पुल निर्माण गर्न छोटो अवधिको टेन्डर आह्वान गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो।
बागमती प्रदेशसँग उपलब्ध ५०–५० मिटरका दुईवटा बेलिब्रिज एक साताभित्र तयार हुने र स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरी प्राथमिकताका आधारमा दुई स्थानमा जडान गरिने उहाँको भनाइ छ।
त्यसैगरी नेपाली सेनासँग समन्वय गरी पुरानो अर्को बेलिब्रिजसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको मुख्यमन्त्री थापाले बताउनुभयो। दीर्घकालीन रूपमा पक्की पुल निर्माणका लागि अध्ययनसमेत सुरु भइसकेको उहाँले जानकारी दिनुभयो।
उद्धार, उपचार र राहत वितरणपछि प्रदेश सरकार संघीय तथा स्थानीय सरकारसँग समन्वय गरी पुनर्निर्माणमा केन्द्रित भएको मुख्यमन्त्री थापाले बताउनुभयो।
पुल नभएका स्थानमा तत्काल वैकल्पिक सडक सञ्चालनमा ल्याउने विषयमा पूर्वमुख्यमन्त्री तथा अन्य जनप्रतिनिधिहरूले दिएको सुझावलाई समेत आधार बनाएर काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो।
