काठमाडौं । शवमा समेत घुस भने पछि तपाईलाई आश्चर्य लाग्यो होला हैन ? तर पशुपति आर्यघाटमा यस्तै भएको छ । शव जलेर सकिनै लाग्दा मृतकका आफन्तसंग पशुपति क्षेत्र विकास कोषका कर्मचारी नै घुस लिने गरेको तथ्य सार्वजनिक भएको छ ।
आर्यघाटमा शव पु¥याउनेबित्तिकै पशुपति क्षेत्र विकास कोषको काउन्टरमा पैसा तिरेर चिता बुक गर्नुपर्छ । त्यसपछि शव जलाउने जिम्मा कोषले लिन्छ । कर्मचारीलाई अतिरिक्त रकम दिनुपर्दैन । तर आजभोली आर्यघाटमा मृतकका आफन्तबाट घुस लिने घटना बढ्न थालेको छ । दाहसंस्कारका लागि जानेहरुमाथि मागेजति पैसा नदिए कुटाइ खानुपर्ने हुन्छ ।
शव जलाउनेको दादागिरीले पशुपति आर्यघाटमा सामान्य मान्छेले दाहसंस्कार गर्नै नसक्ने अवस्था आईरहेको धेरैले गुनासो गरेका छन् । यो गुनासो पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडालाई सुनाउदा उनले पनि शव जलाउन घुस मागेको गुनासो धेरै आउने गरेको बताउँछन् ।
आर्यघाटमा दाहसंस्कार गर्दा ६ देखि ४० हजार रुपैयाँसम्म खर्च लाग्छ । कोषमा पैसा तिरेको रसिद ल्याएपछि अरु ठाउँमा शुल्क तिर्नु पर्दैन । तर शव जलाउने ले शोकमा परेका मृतकका आफन्तलाई धम्क्याएर रकम असुल्ने गरेका छन् ।
