काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिक सूचीलाई सच्याउने भएको छ।
असोज २२ मा समानुपातिकको अन्तिम सूची सार्वजनिक गरेको आयोगले त्यसमा दलहरूका तर्फबाट भएका त्रुटिलाई आयोगले सच्याउन लागेको हो।
जसका लागि आयोगले दलहरूलाई यसअघि नै पत्राचार गरिसकेको थियो। आयोगले सूची सच्याउने पहिलो दिन नेपाली कांग्रेसलगायतका दलहरूलाई समय दिएको छ।
कानुन अनुसार दलहरूले बन्दसूची पेस नगरेको भन्दै आयोगले सच्याउन दलहरूलाई पत्राचार गरेको थियो। दलहरूलाई सूची सच्याउन १६ गतेसम्मको समय दिएको छ।
कसैको क्लस्टर नमिलेको, कसैको नाम नमिलेको पाइएपछि आयोगले सच्याउनका लागि पत्राचार गरेको हो। प्रतिनिधि सभाको समानुपातिकतर्फ ४८ दलले बन्दसूची पेस गरेका थिए। आयोगका अनुसार ४८ वटै दलको सूची मिलेको छैन।
