काठमाडौं । नेकपा एमालेले सचिवालय बैठकपछि सामानुपातिक तर्फको नाम टुग्याउन महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललाई जिम्मेवारी दिएको छ । बैठकमा नामवली पेश गर्ने गरी उनीहरुले सूची तयार गर्न समेत निर्देशन दिइएको एमालेले जनाएको छ ।
एमालेको सचिवालयको बैठकबाट नामहरु टुग्याउन लागेको भएपनि समानुपातिकका नाम छनौटमा महासचिव पोखरेल र उपमहासचिव रिमाल हावी भएपछि उनीहरुको जिम्मा लगाएको एक नेताले बताए । समानुपातिकहरुको नाम टुग्याउने अवस्था आएको पनि उनीहरु दुवै जनाले सर्ट लिष्ट बनाएपछि मात्रै टुंगिने स्रोतले जनाएको छ ।
समानुपातिक तर्फबाट जिल्लाबाट आएका नामहरुलाई हेरेर अध्यक्ष केपी ओली सहितले त्यसलाई टुग्याउने र त्यसलाई सचिवालय बैठकले अन्तिम रुप दिई निर्वाचनमा आयोगमा बुझाउने छ ।तर समानुपातिकको नाम टुग्याउन महासचिव पोखरेल आफै हावी भएपछि कतिपय नेताहरुले अपेक्षा गरेका समानुपातिकको नाम काटिने अवस्था आएको एक नेताले बताए ।
उनले भने, ‘समानुपातिकको सूची करिब करिब अन्तिम चरणमा पुगेको छ तर केही प्राविधिक काम बाँकी भएको भन्दै उनीहरुले तयार गरेको सूची नै अन्तिम हुने छ । यसमा सोचेको भन्दा फरक नाम पुग्ने छ , निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने अघिल्लो दिन संसदको कार्याकाल सकिएको छ ।
असोज ३ गते समानुपातिक तर्फका उम्मेद्वारको सुची निर्वाचन आयोगमा बुझाउनु पर्नेछ । एमालले दुई दिनमा जिल्ला, प्रदेश र जनसंगठनबाट आएका नामहरुलाई अन्तिम रुप दिने भएको हो । समानुपातिक नामवली कार्यालय सचिवमार्फत प्राप्त भएको थियो । त्यसलाई नै टुग्याउने भएको हो ।
सचिवालयको बैठकबाट प्रतिनिधिसभाका एक सय १० र प्रदेश सभाका दुई सय २० सहित तीन सय ३० जना उम्मेदवारको बन्दसूची बनाउने गरी तयारी थालेको हो । एमालेमा करिब ३ हजार भन्दा बढी नेताहरु समानुपातिकमा सिफारिस भएका छन् ।
