मुगु । स्वर्गकी अप्सरा भनेर परिचित कर्णाली प्रदेशको गहना अर्थात नेपालकै गौरव बोकेको ठूलो ताल रारामा अब साइकल चलाउन पाईने भएको छ ।
प्रदेश सरकारले तालको वरिपरि साइकल लेन बनाउने निर्णय गरेर प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाद्धारा संयुक्त पूजापाठमा लेनको विहीबार विहान शिलान्यास गरिएको छ । क्रमागत योजनाको रुपमा आर्थिक वर्ष २०७६र७७ मा तीन करोडको ठेक्का आव्हान गरिएको छ ।
साढे चौध किलोमिटर लम्वाई भएको तालको वरिपरि यो वर्ष एक किलोमिटरमात्रै लेन बनाईने मन्त्री नन्दसिह बुढाले बताए । आगामी वर्ष थप बजेट थप्दै तालको वरिपरि साइकल लेन बनाइने छ । ताल संरक्षका लागि मुख्यमन्त्री शाहीले रारातालको प्राकृतिक सम्पदालाई मासिन नदिनका लागि ताल क्षेत्रमा अन्य सवारी साधन नपुर्याइने बताए । तालको प्राकृतिक स्वरुपको जगेर्ना गरिराख्नका लागि मिलिचौर भन्दा तल साइकल मात्रै लैजाने व्यवस्था मिलाईने शाहीको भनाई छ ।

