सीमामा फेरी भारतीय प्रहरीको दादागिरी

सीमामा फेरी भारतीय प्रहरीको दादागिरी

काठमाडौं । नेपाल भारत सीमा क्षेत्रका पीलरमा भारतीय प्रहरीको दादागिरी मच्चाएको समाचार बाहिरिएको छ । मेची नदीको तटीय क्षेत्र तटबन्ध गर्न खोज्दा भारतीय एसएसबीले अवरोध गरेको हो ।

भारतीय एसएसबीले नेपाली भूमिमै आएर अवरोध गर्दा तटबन्ध निर्माण रोकिएको स्थानीयले बताएका छन् । साउन २५ गते मेचीमा आएको बाढीले कचनकवल –५ पाठामारीस्थित ११२ नम्बर सीमा पिलर बगाएको साथै तटीय क्षेत्र कटान गर्दा बस्ती उच्च जोखिममा परेको छ ।

बस्तीसँगै नेपाली भू–भाग जोगाउन कचनकवल गाउँपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरी ढुङ्गा र तार जालीको तटबन्ध बनाउन लागेको गाउँपालिकाका इन्जिनियर अमित ढुङ्गानाले बताए ।

गाउँपालिकाले ११२ नम्बर सीमा स्तम्भदेखि उत्तरतर्फ ५० मिटर छाडेर तटबन्ध निर्माण सुरु गरेको थियो । निर्माण कार्य सुरु गरे लगत्तै भारतीय एसएसबीको १९ बटालियन टोली आएर काम रोक्न लगायो ।

तटबन्ध निर्माणमा एसएसबीले अवरोध सिर्जना गरेपछि उपभोक्ता समितिले तत्काल गाउँपालिकासहित स्थानीय प्रहरीलाई जानकारी गराएको थियो ।

त्यसको भोलिपल्ट शनिबार बिहान एसएसबी १९ बटालियनका इन्स्पेक्टर सोरियासहितको टोली निर्माण स्थल आइपुगेको थियो । गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, वडाध्यक्ष महेशलाल गणेश, इन्जिनियर अमित ढुङ्गाना,

सशस्त्र प्रहरी बिओपी पाठामारीका सई रुद्र श्रेष्ठ, पाठामारी चौकीका असई भरत कोइराला लगायतको टोली त्यहाँ पुगेर त्यस विषयमा छलफल गरेको थियो ।

त्यसपछि एसएसबीले जिपिएस ट्र्याकिङ गरी बगाएको ११२ नम्बर पिलरको स्थान पहिचान गर्‍यो । एसएसबीले बिना कारण दुःख दिँदा निर्माण अवरुद्ध बन्न पुगेको गाउँपालिका अध्यक्ष आलमले बताए ।

एसएसबीले बारम्बार नेपालमा आएर दुःख दिइरहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.