सुदूरपश्चिम प्रदेशमा आमहड्ताल, गेटामा विश्वविद्यालयको माग

सुदूरपश्चिम प्रदेशमा आमहड्ताल, गेटामा विश्वविद्यालयको माग

धनगढी । सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ । कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आमहड्तालको घोषणा गरेको हो । सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद् र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने सङ्घर्ष समितिले माग गर्दै आएको छ ।

समितिका संयोजक लोकराज पाण्डेले आमहड्तालमा यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरूले ऐक्यबद्धता रहेको बताए । आमहड्ताल बिहान ८ देखि साँझ ६ बजेसम्म रहने जनाइएको छ । शैक्षिक सङ्घ संस्था, कल कारखाना, यातायातलगायत बिहानैदेखि चल्न सकेका छैनन् । सुदूरपश्चिमस्थित संयुक्त यातायात व्यवस्थापन मूल समितिले बन्दमा आफ्नो ऐक्यबद्धता जनाउँदै यातायातका साधन नचल्ने जानकारी गराएको छ ।

धनगढीमा बजार बन्द गराउँदै हिँडेका ५ जना बन्धकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मन्त्री सवार गाडीमा ढुङ्गा हानेको भन्दै ५ जना बन्धकर्तालाई प्रदेश सभा भवन बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मूल समितिका संयोजक पदमराज सापकोटाले विज्ञप्ति जारी गर्दै सङ्घर्ष समितिले केही सातादेखि आन्दोलनको घोषणा गरेको जनाए ।

सरकारले जेठ १५ गते संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शय्याको मात्रै अस्पतालमा सीमित पारेपछि स्थानीयले सङ्घर्षको कार्यक्रम घोषणा गदै आन्दोलित भएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.