भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

स्थानीयका रोजाइमा आयुर्वेदिक उपचार

स्थानीयका रोजाइमा आयुर्वेदिक उपचार

भोजपुर । आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन् । आयुर्वेदिक औषधिले अन्य औषधिभन्दा स्वास्थ्यमा कम असर पर्ने विषयमा जानकारी पाएसँगै स्थानीयमा विश्वास बढेको देखिन्छ ।

दैनिकरूपमा एक सय जनासम्म उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको भनाइ छ । आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा आठ हजार चार सय १५ बिरामीले सेवा लिएका छन् । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नशासम्बन्धीका रोगी रहेका जनाइएको छ ।

बिरामीको सुविधालाई ध्यानमा राख्दै स्वास्थ्य उपकरण विस्तारमा समेत ध्यान दिएको कार्यालयले जनाएको छ । तर दक्ष चिकित्सकको कमीले सेवा प्रवाहमा भने समस्या हुने गरेको छ । उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायतले सेकताप गर्दै रोगअनुसारको उपचार पद्धति अपनाइएको कार्यालयको भनाइ छ ।

केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सक अभावमा सेवा प्रवाह गर्न केही कठिनाइ रहेको कार्यालयले जनाएको छ । मानिसहरू खास गरेर एन्टिवायोटिक औषधि सेवन गरेर रोगलाई चाँडो निको बनाउन चाहने भए पनि भोजपुरमा भने आयुर्वेदिक उपचारमा आकर्षित भएका हुन् । विभिन्न विधि प्रयोग गरेर स्वास्थ्यकर्मीले सेवा दिन थालेपछि बिरामीको यसतर्फ चासो बढेको देखिन्छ ।

लामो समयसम्म ठुल्ठूला अस्पतालमा गएर एलोपेथिक विधिबाट उपचार गराउँदा रोग निको नभएको बताउँदै बिरामी उपचारका लागि जिल्ला आयुर्वेद उपचार केन्द्र पुग्ने गरेका छन् । स्थानीय केशरबहादुर श्रेष्ठले बाहिरका ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुवेर्दिक उपचारबाट निको भएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “खासमा हामीले यो उपचार पद्धतिकाा बारेमा जानकारी नपाउँदा समस्यामा परेका रहेछौँ । मेरो निकै लामो समयबाट ढाडमा समस्या थियो । उपचार गराउन विभिन्न सहरका ठूला अस्पतालमा गएँ तर अहिले यहाँ उपचार गराउन थालेपछि निको हुँदै गएको छ ।”

केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदनलगायत सेवा सञ्चालनमा छ । बाथरोग, हार्डजोनी, अम्लपित्त, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन् । आयुर्वेदिक औषधिको महत्वका बारेमा जानकारी हुन थालेपछि आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् । आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको स्थानीयवासी पासाङदिकी शेर्पाले बताउनुभयो ।

“मेरो ग्याष्ट्रिकको समस्या छ । विभिन्न अस्पतालमा उपचार गराउन गएँ”, उहाँले भन्नुभयो, “त्यति गर्दा पनि निको नभएपछि अहिले करिब एक महिनाबाट नियमतिरूपमा यहाँ आएर उपचार गराइरहेकी छु । अहिले सुधार भइरहेको छ । यहाँ उपचार गराउन थालेपछि मेरो रोग निको भइरहेको छ ।”

आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको कार्यालयका वैद्य अनिलकुमार मण्डलले बताउनुभयो । बिरामीको चाप बढे पनि आफ्नो भवन तथा दरबन्दीअनुसारका चिकित्सक तथा कर्मचारी नहुँदा भने सहज सेवा प्रवाहमा कठिनाइ भएको कार्यालयले जनाएको छ ।

विसं २०५८ देखि जिल्लामा आयुर्वेदिक जडीबुटीद्वारा मिश्रित औषधि तथा चूर्ण सर्वसाधरणलाई वितरण गर्न सुरु गरिएको थियो । भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार औषधालय, दिङ्ला औषधालय र ओख्रे औषधालय शाखा रहेका छन् । त्यस्तै अरुण गाउँपालिकाको चम्पे, हतुवागढी घोडेटार, टेम्केमैयुङको अन्नपूर्ण र पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रबाट स्थानीयले सेवा लिइरहेको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.