भक्तपुर । चाँगुनारायण नगरपालिकाको परिचय अब एभोकाडो सिटीमा रुपान्तरण हुने भएको छ । त्यसका लागि अभियान्ताहरुले घरघरमा पुगेर अभियान सुरु गरेका छन् । चाँगुनारायणका प्रत्येक घरपरिवारले अहिले एभोकाडो लगाउन थालेका छन् । प्रतिघर दुईवटा एभोकाडोको विरुवा नि:शुल्क वितरण गरेर अभियान्ताहरुले यसकोे सुरुवात गरिरहेका छन् ।
तीन वर्षसम्म अभियान सञ्चालन गरी चाँगुनारायण सिटीलाई एभोकाडो सिटीमा रुपान्तरण गरिछाड्ने अभियानका संयोजक नरेश खड्काले कैलाश खबरलाई बताए । बागमती प्रदेश सरकारकाे परिकल्पनामा यो अभियान थालिएको उनको भनाइ छ । अर्थशास्त्रका विज्ञका रुपमा परिचित डिपी.ढकालको परिकल्पनामा यस अभियानले लय समातेको उनको धारणा छ । ढकाल यस अभियानका मुख्य संरक्षकसमेत रहेका छन् ।
केही समय पहिले कैलाश खबरसंग कुरा गर्दै ढकालले चाँगुनारायणबासीहरुको आय आर्जनलाई बढाउन यो लगायत अन्य अभियान पनि थालिने बताएका थिए । पर्यटकीय गन्तव्यका रुपमा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमार्फत पहिचान बनाउन सफल भएको यस नगरपालिकालाई एभोकाडो सिटीका रुपमा पहिचान विस्तार गर्ने उद्देश्यले अभियान सुरु गरिएको ढकालको भनाइ छ । यस्तै चाँगुनारायणका स्थानीयबासीको सहभागितामा यो अभियानले सार्थक रुप लिइरहेको अभियान्ता रामकुमार तामाङले बताए ।
तामाङ २०५० साल देखिनै यस्ता अभियानमा लागेका व्यक्ति हुन । एक घर एक करेसावारी, एक घर एक शौचालय, एक घर एक धाराजस्ता अभियान सफलतापूर्वक सम्पन्न गरिसकेका उनले यो अभियानलाई जोडतोडले उठाइरहेका छन् । यो अभियानले देश विकासमा टेवा पुग्नुका साथै जनताको आर्थिक, सामाजिक सांस्कृतिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ छ ।
चाँगुनारायण नगरपालिकाको हेलमेटडाँडाबाट सुरुगरेको अभियान नारायणटार, ताथली, मिश्राटार, दुवाकोटहुदै नगरपालिका क्षेत्रभित्रका १७ हजार छ सय ८३ घरधुरीमा वृहत एभोकाडोको बिरुवा रोपिने योजना रहेको बताए । त्यस्तै यस अभियानमा सबै स्थानीयको पहुँच र सहभागिता रहने विश्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेश सभा सांसद सुरेश श्रेष्ठले आफूले सोच्दै आएको कुरा कार्यान्वयन गरी ढकालले अभियानकै रूपमा सञ्चालन गरेको धारणा राखे । उनले अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी अभियानका अभियान्ता अञ्जना पोखरेलले नगरलाई हराभरा बनाउन र पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु परिचित गराउने उद्देश्य अनुरूप यो अभियान अगाडि बढेकाे बताएकी छन् ।
विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमार्फत संसारभर परिचित यो ठाउँ अब पर्यटनका माध्यमबाट पनि पहिचान बनाउन सक्षम र सफल हुने दावी गरिन् । नेपाली मात्रै हाेइन, विदेशी पर्यटकहरू पनि यहाँ पुगेपछि स्वच्छ हावापानीमा रमाउन पाउँने भएकाले हरियाली नगरका रुपमा नगरलाई एभोकाडो सिटीका रुपमा विस्तार गर्ने पोखरेलले बताइन् ।
अबको तीन वर्षभित्र सबैको घरमा दुई वटा एभोकाडोको बिरुवा हुर्किने, फल दिने र एउटा घरमा कम्तीमा रू १० हजारदेखि ५० हजारसम्म आम्दानी हुने विश्वास लिइएको उनकाे जिकिर छ ।
अन्जनाकाे जस्तै धारणा सहभागिकाे छ । यहाँका नागरिकको जीवनस्तर उकास्दै हरियाली वातावरण बनाउन, पर्यावरण बचाउन तथा भौतिक विकाससँगै आर्थिक विकासका लागि यस अभियानले सहयोग पुग्ने नगरबासीहरूले विश्वास लिएका छन् ।
रहरले रोप्ने गरिएको एभोकाडो अब आर्थिक विकासकाे मेरूदण्डका रूपमा विकास गरिने भएपछि स्थानीय हर्षित भएका छन् । यो अभियानमा निवर्तमान नगरपालिका प्रमुख सोमप्रसाद मिश्रकोसमेत एक्यवद्धता रहेको छ । आफ्नो साथ र सहयोग निरन्तर रहने भन्दै मिश्रले चाँगुनारायणलाई स्वच्छ, सुन्दर र समृद्ध बनाउन चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।
जानीराखौं के हो त एभोकाडो ?
प्रशस्त भिटामिन र प्रोटिन पाइने एक फल हो एभोकाडो । यसको माग नेपालमा बढ्दै गएको छ । विदेशमासमेत यसको निर्यात बढिरहेको छ । केही वर्षयता नेपालमा एभोकाडोको व्यावसायिक खेती गर्न थालिएको छ । एभोकाडोको एउटा बोटले तीन वर्षदेखि फल दिन थाल्ने र एउटा बोटले तीन क्विन्टलसम्म फल दिने गर्दछ ।
बजारका फलफूल व्यापारी बेच्नका लागि जति एभोकाडो खोज्छन्, तर मागअनुसार पाउन सक्दैनन् भन्ने तथ्य छ । एक विशेष प्रकारको फलका रुपमा परिचित एभोकाडोको उत्पादन कम भएको र यसको माग बढी भएका कारण व्यापारीले पाउन सकेका होइनन् ।
नौनी घिउको जस्तो स्वाद भएको यो फल स्वास्थ्य र पोषणका लागि एकदमै उत्कृष्ट मानिन्छ । माईजोगमाईको सोयाङ, इलाम नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिकाको सुलुबुङमा समेत यसको व्यावसायिक खेती शुरु भएको छ । एउटै बोटलाई ५० हजारमा बेचेको किसानको भनाइ छ ।
रुख ठूलो हुने, पाखाबारीमा समेत लगाउन सकिने साथै सिमसार र खोल्सामा समेत रोप्न सकिने भएकाले पनि किसान यस खेतीप्रति आकर्षित भएका छन् । यसको गाईभैँसीलाई घाँससमेत ख्वाउन सकिन्छ । वस्तुले समेत अत्यन्तै रुचाएर यसको घाँस खाने गरेका छन् । आवश्यकता परेको बेलामा काठ र दाउरा समेतमा यसको प्रयोग गर्न सकिन्छ । ठूलो रूख हुने भएकाले यसको एउटै रूखमा तीन/चार सय किलोग्रामसम्म फल उत्पादन हुने गर्दछ ।
एभोकाडोको बिक्री मूल्यसमेत राम्रो छ । बोटबाट नै व्यापारीहरुले प्रतिकिलो २०० देखि २५० रुपैयाँमा खरिद हुने गर्दछ । नेपालमा नौनी घिउ भनेर चिनिने एभोकाडो अमेरिका र मेक्सिकोमा उत्पत्ति भएको उष्ण प्रदेशीय राम्रो नगदेबालीका रुपमा परिचित छ । यो समुद्र सतहबाट ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा पल्ने गर्दछ । मानव स्वास्थ्यका लागि आवश्यक चिल्लो र कार्बोहाइड्रेट यस फलबाट पाइने गरेको छ ।
बिरुवा रोपेको तीन/चार वर्षदेखि ५० वर्षसम्म आम्दामी दिने यसको एउटा फल दुईदेखि चार सय ग्रामसम्मको हुन्छ । एभोकाडोमा सबै प्रकारको भिटामिनहरु र मिनिरल पाइने विज्ञहरुले बताएका छन् । त्यसैले स्थानीय सरकारले यस खेती प्रवद्र्धनमा विशेष भूमिका खेल्नु पर्ने र अभियान थप गरेर यस्ता कार्यक्रम ल्याउनु पर्ने किसानको माग छ ।

