काठमाडौं । वर्षौदेखिको मेलम्चीको पानीले तिर्खा मेट्ने काठमाडौंवासीको सपना अब पुरा हुने लगभग निश्चित भएको छ ।
सिन्धुपाल्चोकको अम्बाथानबाट सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङ परीक्षण भइसकेको र सुन्दरीजलमा १७ करोड लिटर क्षमताका दुई ठूला प्रशोधन केन्द्र बनाईसकिएको छ । मेलम्चीबाट आउने १७ करोड लिटर पानी दैनिक प्रशोधित हुन्छ। प्रशोधन केन्द्रबाट पाइपलाइनमार्फत चैत १५ गतेदेखि पानीट्यांकीमा पानी पठाइने छ ।
प्रशोधित पानी १० ठाउँमा रहेका पानीट्यांकीमा आउनेछ। काठमाडौंका मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुर बोडे, ललितपुर खुमलटारमा पानीट्यांकी छन् । भक्तपुर कटुन्जेमा भने निर्माणाधीन छ । यी ट्यांकीको कुल क्षमता ७४ हजार ५ सय घनमिटर रहेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए।
यी ट्यांकीबाट मेलम्चीको पानी पाइपलाइनमार्फत सेवाग्राहीका धारामा आउनेछ । १ हजार १ सय किलोमिटर पाइपलाइन निर्माण भइसकेको उपनिर्देशकले बताए । २ सय किमि पाइपलाइनको प्रारम्भिक परीक्षणसमेत गरिएको छ। पाइपलाइनको अन्तिम परीक्षण गरी पानी वितरण गरिनेछ।
अन्तिम परीक्षण सक्न दुई–तीन हप्ता लाग्ने जनाइएको छ। केयूकेएलका पुराना पाइपलाइनबाट चैत १५ गतेदेखि पानी वितरण गरिनेछ । १ लाख १० हजार धारा जडान गर्नुपर्नेमा ८० हजार वटा जोडिएको छ। प्रत्येक घरमा चैतभित्र पानी पुर्याउने गरी काम भइरहेको उनले बताए।
