काठमाडौं । काठमाडौंमा आजदेखी ऊर्जा सम्मेलन हुदैँछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन हुन लागेको हो । आज र भोलि गरी दुई दिनसम्म चल्ने सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको हो ।
ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने बताइएको छ । सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा विद्युत् उत्पादकहरू, विद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गर्दै आएका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिहरूले सम्मेलनमा सहभागिता जनाउने छन् । मुख्यतः नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणका लागि सम्मेलनमा छलफल हुने आयोजकको दावी छ ।
आठौं संस्करणको ‘पावर समिट २०२३’ को संरक्षक उर्जा मन्त्रालय र सह आयोजकमा लगानी बोर्ड रहेको ईपानले जनाएको छ । सम्मेलनमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एशियाली नेताहरुको समेत उपस्थिति हुने जनाइएको छ । पावर समिट नेपालको उर्जा क्षेत्रको बजार विस्तारमा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू लगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिव ८०० जना सहभागी हुने छन् ।
सम्मेलनमा नेपाली जलविद्युत आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत खरिद सम्झौता (पिपिए), नवीकरणीय ऊर्जा विकास र बजार बिस्तारका लागि सम्झौता गरिनेछ । नेपालको विद्युत बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि, नवप्रवद्र्धन सोलार, हाइड्रोजन,अन्तरदेशिय विद्युत व्यापार, दिगो र
जलवायु अनुकुल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिने सम्मेलन संयोजक आशिष गर्गले बताए । सम्मेलनमा १५ वटा स्टल समेत राखिने र स्टलको लागि स्वदेशी कम्पनीका लागि ८ हजार विदेशी कम्पनीहरुका लागि १० हजार तोकिएको छ ।
