भर्खरै : Sorry, your browser does not support inline SVG.

आफ्नै साथीलाई अपहरण गरी बेपत्ता बनाएको अभियोगमा थुनामा

आफ्नै साथीलाई अपहरण गरी बेपत्ता बनाएको अभियोगमा थुनामा

सप्तरी ।  आफ्नै साथीलाई बेपत्ता बनाएको आरोपमा विष्णुपुर गाउँपालिका–१ जमुनीका २५ वर्षीय सुरेन भनिने सुरेन्द्र यादव आज थुनामा परेका छन् । जिल्ला न्यायाधीश ऋषिराम आचार्यको इजलासले यादवलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बेपत्ता श्रवण मुखियाका बुवा मनोरथको जाहेरीमा अपहरण गरी मानिस बेपत्ता बनाइएको मुद्दामा यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

तीन वर्षपछि मलेसियाबाट घर फर्किएका मुखियालाई यादवले गत असोज २४ गते मोटरसाइकलमा चढाएर लागुपदार्थ सेवनका लागि भारततर्फ लगेको गाउँले बताउँछन् । भारत पुगेर लागुपदार्थ सेवन गरेर मातिएका अवस्थामा साँझ फर्किएका उनीहरूबीच मोबाइल हराएको विषयमा विवाद चर्किएपछि यादवले योजना बनाई हत्या गरेको अनुमान गरिएको छ । मुखियाको हत्या गरी डाक्नेश्वरी नगरपालिका–६ स्थित पाँची नदीमा फालेको गाउँलेसँग स्वीकारेपछि नै गाउँलेले आरोपित यादवलाई असोज २८ गते प्रहरीसमक्ष बुझाएको प्रहरीले जनाएको छ । स्थानीयवासी हरेराम मण्डलका अनुसार मुखियाबारे गाउँलेले यादवसँग बसेर घण्टाँै सोधखोज र केरकार गरेपछि असोज २७ गते राति २ बजे आरोपितले हत्या गरेको स्वीकारेका थिए ।

मनोरथको बयानका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले पाँची नदी छेउमा रगतको टाटा र मुखियाको चप्पल फेला पारेको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो । स्काभेटर र रबर बोटसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले असोज २८ गतेदेखि बेपत्ता मुखियाको खोजी गरे पनि फेला नपरेको उहाँको भनाइ छ ।  हत्याको आशङ्कामा खोजिएका मुखियाबारे पत्ता लाग्न नसकेपछि आरोपितविरुद्ध प्रहरीले कर्तव्य ज्यानको उजूरी दर्ता नगरी अपहरण गरेर मानिस बेपत्ता बनाएको मुद्दामा कारवाही थालेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अपहरण गरी मानिस बेपत्ता बनाएको उजूरी इलाका प्रहरी कार्यालय कल्याणपुरले गत मङ्सिर १७ गते दर्ता गरेको थियो । लागुऔषध मुद्दामा अदालतको फैसलानुसार दुई महिनाको कैद भुक्तान गरिसकेका यादवलाई हाल अपहरण गरी मानिस बेपत्ता बनाएको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा राखिएको निमित्त कारागार प्रमुख सञ्जयकुमार रामले जानकारी दिनुभयो ।

घुस लिएको अभियोगमा आरोपपत्र दायर
प्रहरीचौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दरप्रसाद कानुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आरोपपत्र दायर गरेको छ । घुस लिई भ्रष्टाचार गरेको आरोपमा कानुमाथि रु ५० हजारको बिगो कायम गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभयो । आयोगले पुस १६ गते एक प्रेस विज्ञप्ति जारी गरी सेवाग्राहीसँग रु ५० हजार घुस÷रिसवत वापतको रकम लिएको अवस्थामा कानुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीचौकी तिलाठीमा बरामद गरी राखिएको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार लिएको अभियोगमा प्रनानि कानुलाई आयोगको टोलीले कात्तिक २६ गते थलोमै पक्राउ गरेको थियो । सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजूरी निवेदनका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिगएको टोलीले सेवाग्राहीसँग घुसवापतको रकम लिइसकेको अभियोगमा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका सिलसिलामा प्रहरीचौकी तिलाठीमा कार्यरत प्रनानि कानुले सेवाग्राहीसँग रु ५० हजार लिई उक्त रकम छेउका पसलमा लगिराखेको अभियोगमा बरामद भएको थियो । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर भएको देखिंँदा निज कानुलाई बिगो रु ५० हजार कायम गरी सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडाँैंमा आरोपपत्र दायर गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । खाद्यान्न सामानसहित बरामद मोटरसाइकल छाड्न प्रनानि कानुले सेवाग्राहीसँग रकम लिएको अभियोग छ । रासस

 


Thali Mobile Pvt.Ltd.