काठमाडौं। जलवायु परिवर्तनको असरसँग जुध्ने साझा प्रतिबद्धता जनाउँदै नेपालले राखेको एजेण्डामा विश्व जगत सहमत भएको छ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ९कोप २६० वल्र्ड लिडर कार्यक्रममा भाग लिन बेलायतको ग्लास्गो पुगेका नेताले साझा अभियानबिना जलवायु परिवर्तनको असरसँग जुध्न नसकिने निष्कर्ष निकालेका हुन ।
जलवायु परिवर्तनको चुनौतीको सामना गर्न एक अर्काको सहयोगी हुने धारणा राख्दै द्विपक्षीय, बहुपक्षीय भेटवार्ता, सम्झौता तथा सहमतिमा हस्ताक्षरसमेत विश्वका नेताहरुले गरेका छन् ।
वन संरक्षणमा विश्वमै नमुना काम गरेको नेपालले आणविक भट्टी प्रशस्त भएको अमेरिका, बेलायतजस्ता मुलुकलाई वनको संरक्षण गर्न, मिथेन उत्सर्जन कम गर्न र हरित प्रविधिलाई गति दिने कुरामा सहमति गराउन सफल भएको अधिकारीहरुले बताएका छन् । उच्च हिमाली क्षेत्रले विश्वलाई दिएको योगदान र त्यो क्षेत्रमा असर पर्दा विश्व समुदायले बेहोर्ने क्षतिबारे सम्मेलनमा विशेष चर्चा गरियो ।
विश्व समुदायका अगाडि हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले पारेको प्रभावसँग जुध्न सबैले लाग्नुपर्ने एउटा एजेन्डा जबर्जस्त पारित समेत भयो । खासै प्राथमिकता नपाउने गरेको विगतको इतिहासलाई हेर्दा यो पटक नेपालले महान उपलब्धि हासिल गरेको जानकारहरु बताउँछन् ।
विश्वका १७० भन्दा बढी मुलुकका ४० हजार व्यक्तिको सहभागिता रहेको सम्मेलनमा १३२ जना राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सहभागिता र दुई दिनको लिडर्स समिटमा सम्बोधन गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको एक महत्वपूर्ण बैठकमा विश्वका २२ राष्ट्राध्यक्ष र सरकार प्रमुखको मात्र सहभागिता रहेको थियो ।
सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जनसहभागितामूलक वनजङ्गल संरक्षणको कामलाई विश्वले सिक्नुपर्ने बताउँदा सबैले ताली बजाएर स्वागत गरेका थिए । विश्वले नजिकबाट हेरिरहेको क्षणमा नेपालले आफ्ना कुरा भन्नु पाउनु ऐतिहासिक अवसर भएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलले बताए
