काठमाडौं । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालको जानकारीविना नै सरकारले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थपेको छ ।
गोप्य राखिएको मन्त्रिपरिषदको यो निर्णयको पत्र गृहको प्रशासन महाशाखामा पुगेसँगै छताछुल्ल भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि यस विषयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग असन्तुष्टि व्यक्त गरिरहेका छन् । यता गृहमन्त्री रामबहादुर थापा (बादल) स्वयंलाई निर्णयबारे पूर्वजानकारी नभएको गृहसचिवालयले जनाएको छ ।
गृहले पेस गरेको प्रस्तावमा पाँचवटा प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप्नुपर्ने मात्रै भनिएको थियो । मन्त्रिपरिषदले गृहको प्रस्तावलाई अध्ययनका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा प्रशासनिक समितिमा पठाएको र उपप्रधानमन्त्री पोखरेलले नै एउटा दरबन्दी थपेर मन्त्रिपरिषदमा प्रस्ताव लगेको गृहस्रोतको दावी छ । यस विषयले गृहमा हल्लीखल्ली मचिएको छ ।
