काठमाडौं । कोही पनि नेपाली नागरिक पैसाको कारणले उपचार नपाएरअभावमा मर्नु नपर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । शुक्रबार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पैसाको अभावमा नमर्ने बताएका हुन ।
मन्त्री बस्नेतले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने बताए । स्वास्थ्य मन्त्रालय मन्त्रालयजस्तो नभई अस्पतालजस्तो भएको भन्दै मन्त्री बस्नेतले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।
द्वन्द्वकालका घाइतेहरुको उपचार गर्न मन्त्रालय तयार रहेको उनको भनाई छ । सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको भन्दै उनले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको बताए ।
अस्पतालले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रवन्धलाई लागू गर्न सफल भएको जिकिर गरे । मन्त्री बस्नेतले स्वास्थ्यकर्मीहरु दुर्गम ठाउँमा सेवा दिन जान थालेको बताए ।
