१७ असार २०७७ दैलेख । दैलेखमा चार जना घुस खाँदाखादै रंगेहात पक्राउ परेका छन् ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका निमित्त प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्द २ लाख ४१ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन । भगवतीमाई गाउँपालिका ३ सानटडा खोला तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख ४१ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।
घुस लिँदै गरेको अवस्थामा इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्दको बयानको आधारमा सबइञ्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डे पनि पक्राउ परेका छन् । घुस लिने कुराको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेर पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले जनाएको छ ।

