एक महिलाको मृत्यु, दर्जनौँ घर परिवार विस्थापित

एक महिलाको मृत्यु, दर्जनौँ घर परिवार विस्थापित

पोखरा । अविरल वर्षाका कारण गण्डकी प्रदेशमा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । दर्जनौ घर परिवार विस्थापित भएका छन् । खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारको मृत्यु भएको हो ।

शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेको स्थानीयले बताए । यता बाढी पहिरोले मनाङ जिल्लाको तीन वटा स्थानीय तहमा क्षति पुर्‍याएको छ । चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

यस्तै मर्स्याङ्दी नदीमा आएको बाढीले नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर डुबानमा परेका छन् । नासो गाउँपालिका—३ धारापानीमा सरकारी कार्यालय र बैंकका भवनहरु पनि बगाएको छ ।यता बाढीले पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा पर्ने सेतिवेणीका नौ घर बाढीले बगाएको छ ।

सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका—५ का ८ घर र पर्वतको विहादी गाउँपालिका—६ शालिग्रामको एक घर बाढीले बगाएको छ । उता पहिरोका कारण बागलुङमा ११ परिवार बिस्थापित भएका छन् । बागलुङको जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर परिवार बिस्थापित भएका छन् ।

उता लमजुङको मध्यनेपाल नगरपालिकाअन्तर्गत मिदिम खोलाको बाढीमा फसेका ९ जनाको जेसीबीको सहायताबाट उद्धार गरिएको छ । मध्यनेपाल–६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौजनालाई जेसीबीको सहायतामा उद्धार गरिएको मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।

 


Thali Mobile Pvt.Ltd.