भर्खरै : Sorry, your browser does not support inline SVG.

एनआरएनएलाई नागरिकता लिने बाटो खुला

एनआरएनएलाई नागरिकता लिने बाटो खुला

काठमाडौं । गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली सरकारले स्वीकृत गरेको छ । सरकारले गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नियमावली बनाएर त्यसलाई कार्यान्वयन गर्न लागेको हो । १२ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरे पनि सार्वजनिक भने गरिएको छैन ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै नागरिकता ऐन, २०६३ संशोधन भएको थियो । ऐन जारी भएलगत्तै ०७२ भन्दा अघि जन्मका आधारमा नेपालमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने विषय कार्यान्वयनमा गए पनि नियमावली नहुँदा अन्य नयाँ प्रावधान भने रोकिएका थिए ।

नियमावली आएसँगै अन्य प्रावधान कार्यान्वयनका लागि पनि अब बाटो खुलेको छ । ऐनको दफा ७ मा गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी प्रावधान छ । विभिन्न मुलुकमा करिब १५ लाखभन्दा बढी गैरआवासीय नेपाली रहेको गृह मन्त्रालयको अनुमान छ । यस्तो नागरिकता पाउनेले भोट हाल्ने तथा राजनीति गर्न भने पाउने छैनन् । साथै, सरकारी पदमा पनि बस्न पाउँदैनन् ।

व्यवसाय गर्न पाउनुका साथै उनीहरूले सम्पत्ति भने दुवै देशमा राख्न पाउँछन् । नियमावलीले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने प्रक्रिया र मापदण्ड प्रस्ट पारेको छ । निवेदन दिने व्यक्ति वा उनको आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.