काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत भारी वर्षाका कारण स्थगित भएको घरेलु टोली नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको बाँकी फाइनल खेल आज हुने भएको छ। सोमबार वर्षाले बिथोलेको खेल आज ‘रिजर्भ डे’मा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाउँदै एक सय ६ रन बनाएको अवस्थामा वर्षा हुुदा खेल रोकिएको थियो । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । यस्तै आर्यन लाक्राले १३, कप्तान मोहमद वासिमले ११ र बसिल हमिदले १० रन बनाए ।
नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले दुई÷दुई तथा गुलशन झा र सोमपाल कामीले एक÷एक विकेट हात पारे । मंगलबार यूएईले १०६–९ को स्थितिबाट खेल सुरु गर्नेछ । वर्षाको सम्भावना रहेकाले नतिजा नआएमा खेल सुपर ओभरमा धकेलिने जनाइएको छ ।
सुपर ओभर पनि वर्षाले बिथोलेमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्ने पक्का छ । सुपर ओभर नभएमा एकदिवसीय वरीयताको आधारमा नेपाल एसिया कपमा छनोट हुनेछ । एकदिवसीय वरीयातामा नेपाल १४ र यूएई १९औं स्थानमा छन् ।
एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्न पाउनेछ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र एसीसी प्रिमियर कप विजेता समूह ‘ए’मा छन् । यस्तै समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । एसिया कप आगामी सेप्टेम्बरमा हुँदैछ।
