काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै सडकमा राजा आऊ देश बचाऊ भन्न लगाएको दावी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएका छन् ।
हेटौँडामा सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । जनतालाई सडकमा भेला गरेर दुख दिने उद्देश्य आफ्नो नभएको भन्दै देउवाले ओलीले एक दलिय सर्वसत्तावाद लागू गरेको बताए । सत्ता उनमादले अत्तालिएर ओलीले कम्युनिष्ट शासन व्यवस्थाकै धज्जी उडाएको बताए ।
वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न असफल भएको, भ्रष्टाचार र घुसमा लिप्त भएको दाबी गरे । ओलीकै कारण देशभर आन्दोलन गर्नुपर्ने बाध्यता आएको भन्दै देउवाले अदालतलाई नै कम्युनिष्टको गण बनाउन थालेको आरोप लगाए ।
